
मानिसले ७० हजार वर्षअघिबाट दाल र रोटी खान सुरु गरेको प्रमाण फेला परेको छ । इराकको राजधानी बग्दादबाट ८०० किलोमिटर उत्तरमा पर्ने शनिदार गुफामा विश्वको हालसम्मकै पुरानो शाकाहारी खानाको अवशेष फेला परेको छ ।
जलेको अवस्थामा रहेको खानेकुरा दाल-रोटीको अवशेष रहेको शोधकर्ताहरुले ठहर गरेका छन् । उक्त दाल-रोटी ४० देखि ७० हजार वर्ष पुरानो हो ।
उक्त जलेको खानामा विभिन्न खाले बीज, जंगली दाल, जंगली तोरी, जंगली फलफूल तथा घाँसको मिश्रण पाइएको छ । यी सबै चिज मिलाएर दालरोटी बनाउने गरिएको हुनसक्ने वैज्ञानिकहरुको ठम्याइ छ ।
स्मरण रहोस् मानव इतिहासको कुनै कालखण्डमा उक्त गुफा निएन्डरथल मानवको आधुनिक बस्तीको रुपमा रहेको थियो । त्यसबेलाको प्राचीन मानव केवल मांसाहारी मात्र रहेको मान्यता हालसम्म रहँदै आएको छ । तर पछिल्लो पटक सोही गुफामा फेला परेको शाकाहारी खानेकुराको प्रमाणले ७० हजार वर्ष अगाडिको मानिसको खानेकुरामा पनि विविधता रहेको पुष्टि भएको छ ।
वैज्ञानिकहरुले बगदादको शनिदार गुफा तथा ग्रिसको फ्रान्च्थी गुफाबाट नौ वटा नमुना जम्मा गरेका थिए । त्यसपछि ती नमुनालाई इलेक्ट्रोन माइक्रोस्कोपले स्क्यान गरियो । त्यसक्रममा उक्त नमुनामा दाल, बीउविजन, तोरी, फलफूल तथा खानलायक जंगली घाँस समेतको अंश रहेको पत्ता लाग्यो । त्यसमध्ये पाँचवटा खाद्य पदार्थ शनिदारमा फेला परेका थिए ।
त्यस्तै फ्रान्च्थी गुफाबाट प्राप्त खानेकुराको अवशेषमा पनि युरोपको हालसम्मकै पुरानो शाकाहारी खानाको प्रमाण फेला परेको छ । त्यो १२ देखि १३ हजार वर्ष पुरानो भएको शोधकर्ताको दाबी छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4