
८ मंसिर, धनगढी । २६ कात्तिकमा कैलालीको अत्तरियामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावपछि माधव नेपालको पार्टी समाप्त हुने दाबी गरेका थिए ।
सभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘माधव नेपाल त यही चुनावबाट समाप्त हुन्छन्, माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानीले भिजाएर डल्लो पारेको, पानी सुकेपछि फुट्छ । ’
यति मात्र होइन ओलीले एकीकृत समाजवादीमा धेरै नेताहरु एमालेमै फर्किएको भन्दै उक्त पार्टीलाई रित्तो भाँडोसँग तुलना गरेका थिए । ‘माधव नेपालको पार्टी त रित्तो भाँडो भइसक्यो । अलि अलि बाँकी होलान्, ४ मंसिरसम्म सबै आइसक्छन्’, ओलीले भनेका थिए ।
देशभरको नतिजा निराशाजनक भएपनि सुदूरपश्चिम प्रदेशमा भने गठबन्धनको बलमा एकीकृत समाजवादीले उत्कृष्ट नतिजा निकालेको छ ।
सुदूरपश्चिममा प्रतिनिधि सभातर्फका १० र प्रदेश सभातर्फका २३ सिटको अन्तिम नतिजा सार्वजनिक भइसक्दा एकीकृत समाजवादीले पाँच सिट जितेको छ । यसलाई समाजवादी पार्टीले सुदूरपश्चिमबाट प्राप्त गरेको ठूलो सफलताका रुपमा हेरिएको छ ।
भागबण्डाका क्रममा प्रतिनिधिसभा (डोटी, बझाङ र अछाम) का तीन सिट पाएकोमा सबैमा जित हात पारेको छ भने प्रदेशसभामा कैलालीमा दुई सिट पाएकोमा एक गुमाउदा अर्को जितेको छ ।
जबकी गठबन्धनकै अर्को ठूलो घटक माओवादी केन्द्रले प्रतिनिधिसभामा पाएको सुदूरपश्चिमका चारमध्ये कुनै ठाउँ जित्न सकेको छैन भने एमालेले पनि बिहीबार साँझसम्म बैतडीको एक सिटमा मात्र जित हासिल गरेको छ ।
डोटीबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले, बझाङबाट भानुभक्त जोशी र अछामबाट शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आलेले नेकपा एमालेकी गौरी ओलीलाई चार हजार २०६ मतले हराउदै विजयी भए । आलेले २७ हजार २१० मत प्राप्त गर्दा ओलीले २३ हजार ४ मत पाएकी छन् ।
बझाङमा जोशीले २८ हजार १४३ मत पाउँदा नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत प्राप्त गरे ।
२०६४ को निर्वाचनमा एमालेले सुदूरपश्चिममा तीन सिट मात्र जितेको थियो । चुनाव जित्नेमा बझाङमा जोशी, डोटीमा हर्कबहादुर सिंह र अछाममा शेरबहादुर कुँवर थिए । २०७९ मा भने कुँवरले पनि एकीकृत समाजवादीबाट चुनाव जितेका छन् ।
अछाम–१ बाट एमालेका झपटबहादुर बोहरालाई पराजित गर्दै कुँवरले चुनाव जितेका हुन् । उनले १९ हजार ५१४ मत ल्याउँदा एमालेका बोहराले १५ हजार ४५ मत प्राप्त गरे । प्रदेशसभातर्फ नेकपा (एकीकृत समाजवादी) ले कैलाली–४ को प्रदेशसभा (१) र कैलाली–३ को प्रदेशसभा (२) मा टिकट पाएको थियो ।
कैलाली–४ को प्रदेशसभा (१) मा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले १३,४७९ मत पाएर जित्दा एमालेका भीम देउवाले ९ हजार ४२३ मत पए । तर कैलाली–३ (२) मा भने एकीकृत समाजवादीका अमर साउद नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीसँग पराजित भए ।
समाजवादीले यो घाटालाई कञ्चनपुरबाट पूर्ति गरेको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ (१) मा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भए ।
बागी उठेका जोशी पनि विजयी
नेकपा एकीकृत समाजवादीले टिकट नदिएपछि डडेल्धुरा (२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका ताराप्रसाद जोशी पनि निर्वाचित भएका छन् । उनले कांग्रेसका गोविन्दराज बोहरालाई पराजित गरे ।
जोशीलाई पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै एकीकृत समाजवादीले कारबाही गरेको छ । जोशीले चुनाव जितेपछि भने नेताहरु उनीसँग सम्वादमा गएका छन् । स्रोतका अनुसार जोशीको कारवाही फुकुवाको तयारी भएको छ ।
प्रदेश अध्यक्ष भन्छन् : अपेक्षाकृत नतिजा आयो
एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्ष हर्कबहादुर सिंहले लामो आन्दोलनबाट खारिएर आएका नेताहरुलाई जनताले अनुमोदन गरेको बताए । उनले आफूहरुको जितमा सत्ता गठबन्धनको साथ मुख्य कारण रहेको पनि लुकाएनन् ।
‘हामीले पाएको तीन वटै क्षेत्रमा लामो आन्दोलनबाट खारिएर आएका नेताहरुलाई उम्मेदवार बनाएका थियौँ । जनताले विश्वास गरेर उहाँहरुलाई जिताउनुभएको छ,’ अध्यक्ष सिंहले अनलाइनखबरसँग भने, ‘स्वभाविक रुपमा सांगठानिक रुपमा कमजोर रहेका बेला हामीलाई सफलता दिलाउनमा गठबन्धनमा आवद्ध कांग्रेस र माओववादीको ठूलो शक्तिको भूमिका छ ।’
प्रतिक्रिया 4