+
+

प्रदेशसभा जान चाहेका पन्तको संघीय संसदको यात्रा

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर ९ गते १७:४५

९ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त यसपटक पनि प्रदेशसभामै दोहोरिन चाहन्थे । उनको चाहना अनुसार कैलाली-५ (२) बाट सिफारिस भए । प्रतिनिधिसभा सदस्यमा केन्द्रीय एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुको नाम सर्वसम्मत एकल सिफारिस भयो ।

आरजुले अघिल्लो चुनाव पनि यही क्षेत्रबाट लडेकाले उनको नाम सिफारिस स्वभाविक थियो । तर पार्टीभित्र देखिएको असन्तुष्टि र सार्वजनिक आलोचनापछि आरजुले टिकट लिइनन् । उनी समानुपातिकतर्फ बसेपछि प्रदेशसभामा सिफारिस भएका पन्तले प्रतिनिधिसभामा टिकट पाए । धेरैले पन्तलाई हार्ने चुनावको टिकट लिएको भनेर टिप्पणी गरे ।

स्वयं पन्तमा पनि जित्ने बलियो आत्मविश्वास थिएन । तर पार्टीले टिकट दिएपछि उनी मैदानमा उत्रिए । पन्तसँग आरजु र सभापति देउवा परिवारको बलियो साथ थियो । पन्त सिफारिस भएको प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवाकै भतिज प्रकाश देउवाले टिकट पाएका थिए । तर अघिल्लो चुनावमा आरजु हराएको आरोपमा पार्टीबाट निष्कासित गरिएका पुष्करनाथ ओझाले पनि उम्मेदवारी दर्ता गराए ।

राजनीतिक पृष्ठभूमि, पुख्र्यौली घर डोटी, व्यक्तिगत सम्बन्धका कारणले ओझा बलियो रहेको कांग्रेसभित्र आँकलन छ । ओझाको उम्मेदवारी दर्ताले नेकपा एमाले पंक्तिमा आत्मविश्वास बढेको थियो ।

एमालेले २०७४ मा आरजुलाई हराउने नारदमुनि रानालाई नै उम्मेदवार बनाएको थियो । तर प्रतिकूलतालाई पछ्याउँदै पन्तले जितेका छन् । एमालेले बलिया मानेका उम्मेदवार रानालाई हराउँदा पन्तले २१ हजार ३९२ मत पाए । राना २० हजार ३१८ मतमा सीमित हुँदै निकटतम प्रतिद्वन्द्वी बने ।

यसपटक मैदानमा उत्रिएर पनि पुष्करले कांग्रेस उम्मेदवारलाई रोक्न सकेनन् । तर ओझाले पनि राम्रै मत ल्याए । उनले ८ हजार ३४९ मत पाएका छन् । कैलाली-१, २ र ३ जितेको नागरिक उन्मुक्ति पार्टीले यो क्षेत्रमा पनि राम्रै मत पाएको छ । नागरिक उन्मुक्तिले उम्मेदवार बनाएको लक्ष्मण थारुको उम्मेदवारी खारेज भए पनि स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गरेको थियो । चौधरीले ७ हजार ४६० मत पाएका छन् ।

आफैं खटिए देउवा

चुनाव जितेका पन्तकै भनाइमा पनि यो प्रतिस्पर्धा सजिलो थिएन । ‘चुनाव जितिन्छ भन्नेमा विश्वस्त नभएको होइन, तर धेरै मिहिनेत गर्नुपर्छ भन्ने लागेको थियो,’ पन्तले भने, ‘४२ दिनसम्म मेहनत गरे र जनताले त्यसको प्रतिफल दिएका छन् ।’

पन्तले आफ्नो जितलाई कांग्रेस मात्रै नभएर गठबन्धनका सबै दलको मिहिनेत भनेका छन् । ‘नेपाली कांग्रेस आफैंमा मजबुत संगठन भएको पार्टी हो । तर केन्द्रदेखि प्रदेशसम्म गठबन्धन भएकाले यसलाई गठबन्धनकै जित मान्न सकिन्छ,’ पन्तले भने । पुष्करले कांग्रेसकै मत काट्ने सम्भावना धेरै भएकाले पनि पन्तसहित गठबन्धनका नेताहरु सचेत देखिएका थिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा त चुनावी प्रचारप्रसारका क्रममा धनगढीमा एक साता नै बसे । तीन पटक गरेर साता दिन धनगढी बसेका देउवाले असन्तुष्ट कांग्रेस कार्यकर्तालाई मनाउने काम गरेका थिए । आफ्नै निवास बोलाएर देउवाले सामूहिक र एक्लाएक्लै भेटवार्ता गरे । देउवाको यो प्रयत्नपछि पुष्करकै पक्षमा उभिएका नेताहरु पनि पन्ततिर तानिए ।

धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमालका समर्थकहरुलाई समेत कांग्रेसले आफ्नो पक्षमा ल्याएको थियो । त्यस्तो वातावरण सभापति देउवाले नै बनाएका स्थानीय नेताहरु बताउँछन् । तर एमाले उम्मेदवार रानाले भने एकपछि अर्को प्रतिकूलता खेप्नुपर्‍यो । पार्टी मत जोगाउँदै थारु मत तान्ने रानाको प्रयास सफल हुन सकेन ।

त्यसैकारण कांग्रेसको गढ मानिने धनगढी बजार क्षेत्रमा पन्तले बनाएको तीन हजारको मतान्तर रानाले घटाए पनि उल्ट्याउन सकेनन् । रानाको प्रभाव क्षेत्र मानिने वडाहरुको मत नागरिक उन्मुक्तितिर जानुले पन्तलाई सहज भयो ।

चुनाव जितेपछि पन्त मतदातालाई धन्यवाद दिनेमा व्यस्त देखिएका छन् । उनी भन्छन्, ‘हामी चुनावी प्रचारप्रसारमा गाउँगाउँमा गएका बेला जनताले विभिन्न खालका समस्या देखाएका छन् । ती समस्याको समाधान गर्दै आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्नेछु ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?