
बुटवल । रुपन्देहीको तिलोत्तमा मणिग्राममा १५-२६ मंसिरसम्म दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्स, तिलोत्तमा उद्योग वाणिज्य संघको सहआयोजनामा मेला हुन लागेको हो ।
स्वदेशी उत्पादनको प्रबर्द्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा स्वदेशी तथा विदेशी उद्योगबाट उत्पादित सामानका विभिन्न प्रकृतिका ३ सय स्टलहरु रहने मेला मुल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी करिब ७५ प्रतिशत पुरा भएको संयोजक जीएमले बताए ।
महिला कुस्ती, मम्मी डान्स, तिलोत्तमा डान्स आइडल तथा विभिन्न विधाका प्रतियोगिताहरु राखिने मेलामा करिब ५ लाख दर्शक/उपभोक्ता भित्राएर २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति, विद्यालय स्तरका नृत्य प्रतियोगिता, आकर्षक सेल्फी जोन र प्यागोडा शैलीको प्रवेशद्वार आकर्षणको रुपमा रहने आयोजकको भनाइ छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले मुलुकको आर्थिक अवस्था खस्कँदै गएको र मुलुक परनिर्भर बन्दै गएको अवस्थामा स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि टेवा पुर्याउन मेला आयोजना गरिएको बताए ।
कोभिड-१९ पछि शिथिल भएको अर्थतन्त्र चलायमान बनाउन मेला सहयोगी हुने मेलाका सहआयोजक तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालले बताए ।
प्रतिक्रिया 4