
११ मंसिर, इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटीका अध्यक्ष महेश बस्नेतलाई यसअघिका चुनावको मूख्य जिम्मेवारी हुन्थ्यो, आफ्ना उम्मेदवारहरु जिताउने । उनी सधैं क्षेत्र १ मा झलनाथ खनाल, अनि क्षेत्र २ मा सुवास नेम्बाङ जिताउन खटिन्थे ।
खनाल जिताउन निर्वाचन परिचालन कमिटीको संयोजन गर्ने महेश बस्नेतलाई यसपल्ट आफ्नै विगतका नेताविरुद्ध लड्ने अवस्था आइपर्यो । सत्ता गठबन्धनका तर्फबाट इलाममा चुनाव लडेका एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई उनले २ हजार ९५७ मतको फराकिलो अन्तरले जितेका छन् ।
क्षेत्र-२ मा नेम्बाङले ११६ मतको साँघुरो अग्रताले पाँचौपल्ट चुनाव जितिसकेका छन् । पहिलोपल्टको संसदीय चुनावमै जित निकाल्न सफल बस्नेत नेम्बाङ निकट नेता हुन् । यो नतिजासँगै प्रतिनिधिसभातर्फ इलामका दुवै क्षेत्र एमाले जित्न पुगेको छ ।
आफ्ना कार्यकर्ताविरुद्ध लडेका खनालले भने मतगणनाका क्रममा धाँधली भएको आरोप लगाउँदै पुनःमतदानको माग राखेर विवादित हुनुपर्यो । गणना नसकिँदै उनी इलाम छाडेर काठमाडौं फर्किसकेका छन् । खनालकै अडानका कारण गणना डेढ दिनसम्म स्थगित भयो । एकीकृत समाजवादीका सम्मानित नेता रहेका खनाललाई कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको साथ थियो ।
जनसाँस्कृतिक मन्च हुँदै एमालेको राजनीतिमा आएका बस्नेत यसअघि दुईपल्ट इलाम नगरपालिकाको मेयर भइसकेका छन् । उनी नेपाल नगरपालिका संघको प्रदेश १ संयोजक समेत रहे । पार्टीमा प्रायः लो प्रोफाइलमा बस्दै आए पनि स्थानीय शक्तिको केन्द्रमा छाउने गरेका बस्नेतले पार्टीको कार्यकारी जिम्मेवारी लिएको धेरै भएको छैन ।
तत्कालीन जिल्ला अध्यक्ष राम राना एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा चुनिएसँगै अध्यक्षमा बस्नेतको बढोत्तरी भएको थियो ।
सुनुवार जातिको बारेमा अनुसन्धानमूलक पुस्तक लेखेका बस्नेतले साहित्यसम्बन्धी अरु दुई किताब लेखेका छन् । उनी कवि र गीतकार पनि हुन् ।
कतिपयले महेश बस्नेत भन्नेबित्तिकै युवासंघका पूर्वअध्यक्ष तथा भक्तपुरका उम्मेदवार सम्झन्छन् । यसअघि दमननाथ ढुंगानालाई ०७४ को चुनाव हराएर सांसद जितेका भक्तपुर २ का बस्नेतले यसपल्ट चुनाव हार्दैगर्दा संसदमा अर्का महेश बस्नेतको उपस्थिति भने भइराख्नेछ ।
प्रतिक्रिया 4