
१२ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार उद्योग वाणिज्य महासंघले ‘अर्थतन्त्रमा मेला महोत्सवको महत्व विद्यमान चुनौती र आगामी तयारी’ विषयक छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्र राज्यलाई कर तिर्न तयार रहेको भन्दै कर तिर्नको लागि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् । उनले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण र सहयोगी भावना नभएको आरोप लगाए ।
उपाध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यकामा नै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हल बनाउन माग गरेपनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे। उनले अन्य देशहरुले स्वदेशी उत्पादनलाई विदेशी प्रदर्शनीहरुमा राख्नका लागि राज्यले खर्च गर्ने गरेको भएपनि नेपालमा भने उद्योगी व्यवसायीहरुलाई विदेशका प्रदर्शनीमा जान त्यस्तो सुविधा नदिएको बताए ।
उनले जिल्ला तथा स्थानीय तहहरुमा मेला महोत्सव गर्न स्थानीय क्लबहरुलाई दिन नहुने बताए । स्थानीय क्लबहरुलाई मेला गर्न दिंदा स्थानीय व्यवसायीहरुलाई नै असर पर्ने उनको भनाइ थियो ।
उनले उद्योग वाणिज्य महासंघ चोभारको प्रदर्शनी हल बनाउन टीपीसीसँग मिलेर जान तयार रहेको बताए । उनले यदि टीपीसीले चोभारमा बन्न लागेको प्रदर्शनी हल निर्माण गर्ने नसके उक्त हल निर्माण गर्न निजी क्षेत्र तयार रहेको बताए ।
महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको र सातै प्रदेश तथा स्थानीय तहमा मेला तथा प्रदर्शनी स्थल आवश्यक रहेको बताए । उनले स्थानीय स्तरमा मेला महोत्सव गर्न प्रदर्शनी हल भए स्थानीय उत्पादन भएका वस्तुलाई व्यापार विविधिकरण गर्न
सकिने बताए ।
प्रतिक्रिया 4