
१३ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्यटन व्यवसायीहरुलाई थप हतोत्साहित बनाएको होटल संघ नेपाल (हान) ले प्रतिक्रिया दिएको छ ।
कोभिड-१९ ले थला परेको पर्यटन तथा होटल व्यवसायी बैंकको सावाँ ब्याज भुक्तानीका लागि चरम तागेता र उच्च ब्याजदरबाट देशैभर आन्दोलित रहेको अवस्थामा यस समीक्षाबाट केही सहज हुने आश्वासन प्राप्त भए पनि होटल व्यवसायीहरुको न्यूनतम माग समेत पुरा हुन नसकेको हानले उल्लेख गरेको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालाहरुसँग मौद्रिक तथा अन्य नीतिमार्फत होटल उद्योगको पुनरुत्थानमा प्रयत्न सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गरिदिन तागेता गरेको भन्दै यी प्रयत्न जारी रहेको समेत बताएको छ ।
विशेष गरी होटल उद्योगले बैंकहरुलाई तिर्नु बुझाउनुपर्ने सावाँ र ब्याज कोरोना कालमा शून्यको अवस्थामा झरेको कारोबारका कारण समय सीमाभित्र बुझाउन नसकेको व्यवसायीको भनाइ छ ।
मुलुकमा निजी क्षेत्रको प्रयास, ठूलो लगानी र जोखिम मोल्न सक्ने विशष्ट क्षमताबाट विकास भई आजको अवस्थामा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रुपमा विकसित नेपालका होटल उद्योग व्यवसायको संरक्षण गर्न नसक्ने भन्दै लगानी विस्तार समेत हुन नसक्ने हानले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4