
बाबु,
तपाईं को हो ? कहाँबाट आउनु भो ?
के कति कामले आउनुभयो ?
म छोरा हुँ बा
तपाईंको छोरा, गाउँकै छोरा
नढाँट्नुस् बाबु
झुट्टा कुरा नबोल्नुस्
यो गाउँमा छोराहरु बस्दैनन्
मेरा छोरा त देशमै बस्दैनन्
भन्नुस् न तपाईं को हो ?
बा, म गाउँमा नबस्ने
सहरमा गाउँ बाँच्ने
तपाईंहरुलाई माया गर्ने छोरै हुँ
यसपालि तपाईंहरुका लागि
सेवा गर्न आएको हुँ
चुनाव लड्न आएको हुँ
बुझिन बाबु
कुराको भाषै बुझिन, अर्थै बुझिन
सहर बस्ने, गाउँ बाँच्ने
सेवा गर्ने, चुनाव लड्ने
बाबु,
हामी अशक्त हौं, लाटा होइनौ
विवश हौंला, लाचार होइनौ
झुट्टा कुरा नगर्नुस्
जानुस् बाबु, बाटो लाग्नुस्
कि भनौंला, मन मारौंला
ले त बुढी,
एक बेला पानी ले
पिएर तेर्सै जानुस्
बा,
सुन्नुस् न, पख्नुस् न
म झुक्याउन आएको होइन
छल्न आएको होइन
म त
बालाई, बाहरुको समस्या सोध्न आएको हुँ
तपाईंहरुलाई के गर्ने हामीले जान्न आएको हुँ
मन खोल्नुस् बा
यो चुनावले के दिनुपर्छ तपाईंहरुलाई
एक आखर त भन्नुस्
छोराले सोध्यो ठानेर खोल्नुस्
भन्नुस् न बा
तपाईंलाई के समस्या छ ?
जिद्दी रहेछौ, अडियौ
सुन
ऊ त्यो खोपो हेर
देख्यौ
हात हालेर भित्र, जे छ झिक
यी सबै दबाई हुन् हाम्रा
रातो मुटुकको
सेतो काँसाको
बाक्लो टेब्लेट खुट्टा सुन्निएको
मसिनो नसाको
हाम्रा समस्या यिनै हुन् बाबु
अनि
हिंड त भित्र
उता सेन्दैलातिरबाट हिंड
ढोका होचो छ, झुकेर हिंड
ऊ त्यो भान्सा हो
हेर त आमाले आगो फुक्दै छे
अहँ सल्किंदैन, पुत्याउँछ
फुकिरहन्छे, खोकिरहन्छे
खोकिरहन्छे, फुकिरहन्छे
हाम्रा समस्या यिनै हुन् बाबु
अब आँटिया हिंड
लिस्नो अप्ठेरो छ, , धार्जै हिंड
यस्तै छ बा
भित्ता ओद्रिएका छन्
पोतारी छोप्ने तागत छैन
बल्बमा बिजुली छैन
फेर्देओ त भन्न, गाउँमा केटो छैन
अँधेरो छ बाबु
घर पनि, हाम्रो अनुहार पनि
त्यो सिरानको फोटो छोराको हो
फेरेम फुटेछ, चलाइरन्छे
फेर्न जाने जाँगर छैन
हाम्रा समस्या यस्तै हुन् बाबु
अब झरौं मुन्तिर
एक खेप कटेरा जाऔं
आऊ बाबु
पछि पछि आऊ
बाटो हेरेर आऊ, बगेको पानीले लेउ छ
यो जैरे गाउँ सहरियाला झेउ छ
लौ हेर
ऊ त्यो किलो हेर
त्यहाँ लैनो थियो
बकेर्नो बान्नी त्यता हो खाँबो हेर
अब पर्कनी
भत्केको खोर हेर
बान्तिम गोरु उता क्वाल हेर
छा नपारेको वर्षौं भयो
ऊ धुरी हेर, प्वाल हेर
हाम्रा समस्या यिनै हुन् बाबु
अब भित्र हिंड
चा पाक्च, बस्ने एकछिन
छोरा भन्यौ, खाएर जाने
बरु त्यतिञ्जेल-
तखतो खेर, कुँडे हेर
गाबु हेर, चौंठी हेर
पाथी हेर, तमौरो हेर
झेंगा हेर, ठेकी हेर
यी जम्मै हामी जस्तै छन्
न कसैले खोज्छ, न सोध्छ
हाम्रा समस्या यिनै हुन् बाबु
अब के भनम्
कुरा यस्तै हुन्
बरु,
घाम डुब्नै आँट्यो अब जाऊ
ऊ यो बाटो भएर जाऊ
तेर्पाएँ, तेर्पाएँ छ सुस्त जाऊ
तिमी मूलबाटो पुगुञ्जेल
साग टिप्दै गरेका आमाहरु देख्नेछौ
सुस्केरा हाल्दै गरेका बाहरु भेट्नेछौ
कतै दैलो उघारै घरहरु देख्नेछौ
कतै दैलोमा झुण्डिएका चाबीहरु देख्नेछौ
तिमीले,
उब्लिएका मैरी, टिठलाग्दा उदिन
रित्ता भकारा, भत्किएका चौतारी
मासिएका चौपारी र यस्तै यस्तै मात्रै भेट्नेछौ
अहँ,
भेट्नेछैनौ केटाकेटी, न अधबैंसे कतै
बाबु हेर्दै हेर्दै जानु
पर बजार पुगेसी
गाडी भेटिन्छ चढ्नु, यी सबै कुरा गम्नु
हाम्रा समस्या यिनै हुन् बाबु
धेरैपछि कोही आयो
छोरा हुँ भन्यो-
फेरि पनि आउनु है बाबु
तिमी आउँदा
म भएनछु भने आमा होली
आमा गैसकिछे म हुँला
घाम अस्तायो बाबु
रात पर्छ, डर लाग्छ
बिहान हुन्न कि भन्ने डर
घाम देखिन्न कि भन्ने डर
यस्तै यस्तै छ बाबु
जाऊ,
आशिर्वाद लिएर जाऊ
प्रतिक्रिया 4