+
+

प्रचण्ड चाहन्छन् आलोपालोको पहिलो चरण, माधव चाहन्छन् ‘प्याकेज डिल’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते २१:१४

१५ मंसिर, काठमाडौं । भोट गनिनसक्दै नयाँ सरकारको दौडधुप तीव्र भएको छ । सत्ता गठबन्धन कायम रहन्छ भन्नेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा चारै घटक प्रष्ट छन्, तर कसरी कायम गर्ने भन्नेमा मतभेद सतहमा आउन थालेका छन् ।

गठबन्धनभित्रका गतिविधिलाई नजिकबाट नियालिरहेका एक शीर्ष नेताको भनाइमा नयाँ सरकार गठन गर्न अरु एक महिनाभन्दा बढी समय लाग्न सक्छ । ‘प्रचण्डजीलाई अलि बढी हतार भएको हो, हामी चैं वेट एन्ड सी मा छौं,’ ती नेताले भने ।

छलफलकै बीच रौतहट गएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई समग्र सहमतिका लागि मध्यविन्दु खोज्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् ।

प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी सरकारको नेतृत्व आलोपालो हुनुपर्ने, छोटै अवधि भए पनि पहिलो चरण आफूले नेतृत्व गर्न पाउनुपर्ने जिकिर गर्दैछन् ।

देउवाले यसअघि संसद विघटन विरोधको आन्दोलनपछि प्रधानमन्त्रीमा मौका पाएको भन्दै प्रचण्ड अब आफ्नो पालो पाउनुपर्ने भेटघाटहरुमा बताइरहेका छन् । चुनावअघि जिकिर गरेझैंं एक्लै निर्णायक तेस्रो शक्ति बन्न नसकिरहेका बेला उनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई मोलमोलाइको अस्त्रका रुपमा उपयोग गर्न चाहेका छन् ।

तर माधव नेपाल भने प्याकेजमा डिल खोजिरहेका छन् । उनका अनुसार अबको ‘राष्ट्रिय सहमति’ का लागि ‘समग्र विषयवस्तु’ मा छलफल गर्न बाँकी दलहरु तयार हुनुपर्नेछ ।

अनलाइनखबरसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संवैधानिक पदहरुसहित मुख्यमन्त्री र प्रदेश प्रमुख समेतका लागि एकैपल्ट टुंगो लगाउनुपर्ने बताए । आगामी सरकार बन्नु अगावै प्याकेजमा डिल होस् भन्ने आफ्नो चाहना उनले खुलेरै व्यक्त गरे ।

‘गठबन्धन कायम रहन्छ भन्ने कुरा प्रष्ट छ, त्यो कसरी–कसरी हुन्छ भन्नेबारे काठमाडौं आएपछि बसेरै छलफल गर्नुपर्ने छ,’ अध्यक्ष नेपालले भने, ‘प्रचण्डजीले फोन गरिराख्नुभएको छ, प्रधानमन्त्रीसँग पनि कुराहरु भएकै छन् । पहिले सबै कुरा कसरी आउँछ, क्रिस्टल क्लियर होस् न ।’

माओवादी केन्द्र अध्यक्ष प्रचण्डबाट आफूलाई सक्दो छिटो काठमाडौं फर्कन आग्रह भएको उनले बताए । नेपालले भने, ‘अब बसेर कुरा गरिहाल्नुपर्‍यो भन्नुभएको छ उहाँले । मैले पनि एकैपल्ट सबै कुरा गरौं । त्यसका लागि तयारी हुनुपर्‍यो भनेको छु । हेरौं न कसरी कुरा अघि बढ्छ ।’

नेपालका अनुसार सरकारको नेतृत्व कसले गर्छ भन्नेमा निष्कर्ष निक्लिनै बाँकी छ ।प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, सरकारका महत्वपूर्ण मन्त्रीसहित मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि समेत सहमति नगरी केन्द्र सरकारबारे मात्रै सहमति निस्कन नसक्ने उनले अडान राखेका छन् ।

सम्मानित नेता झलनाथ खनालले यसअघि राष्ट्रपति पदको दाबी गरिरहेका बेला भोगेको पराजयसँगै अब छलफल नयाँ कोणबाट अघि बढ्न सक्ने एकीकृत समाजवादी सूत्रले बतायो । स्रोतका अनुसार राष्ट्रपति पदका लागि शेरबहादुर देउवा, बाबुराम भट्टराई या अर्को उपयुक्त पात्रको खोजी हुन सक्ने छ ।

आजै बिहीबार माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्याकेजमै डिलका लागि स्पष्ट प्रस्ताव ल्याउन आग्रह गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै खड्काले सरकार गठनका लागि छलफल अगाडि बढेको खुलाए ।

‘अब समग्र चुनावी समीक्षा गर्दै सरकार गठनका लागि अघि बढ्ने हो, अरु इफ् बट लगाएर बस्ने कुरा छैन,’ उनले भने, ‘हिजो र आज जति पनि भेटघाट भएका छन्, सरकार निर्माणकै लागि अग्रसर छन् ।’ उनले कुनै सहमति भइनसकेको भन्दै थप स्पष्ट आकार पाइसकेपछि मात्रै जानकारी दिने बताए ।

कांग्रेसभित्र महामन्त्री गगन थापा, नेता शेखर कोइरालासमेतले प्रधानमन्त्रीका लागि दाबी गर्दै गरेको अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले त्यस दलभित्रको अन्तरविरोधभित्र खेल्न सक्ने भन्दै कांग्रेस नेताहरु सतर्क समेत देखिएका छन् ।

कांग्रेसभित्रको आन्तरिक गणितले देउवालाई साथ दिइरहेका बेला उनलाई दोहोर्‍याएर कांग्रेसको राष्ट्रिय उर्जा थप कमजोर बनाउन नहुने आवाज बुलन्द बन्दै गएको छ । तर त्यसको साझा नेतृत्व कसले गर्छ भन्नेमा एकमत बनिसकेको छैन ।

कांग्रेसभित्रको एउटा पक्ष देउवालाई दोहोर्‍याउनुको साटो नयाँ विकल्पमा जाने, त्यसका लागि पार्टीमा एक मत नबने प्रचण्डका लागि ठाउँ खाली गरिदिने मत राखिरहेको छ । ‘शान्ति प्रक्रिया, खासगरी संक्रमणकालीन न्यायको विषय देउवा र प्रचण्ड दुवैका लागि टाउको दुखाइको विषय भएकाले राष्ट्रपति पदमा अभूतपूर्व निर्णय समेत गर्न सकिन्छ,’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘त्यस्तो अवस्था आयो भने देउवा नै राष्ट्रपति बन्नुहुन्छ, नत्र हामी बाबुरामजीको नाममा सहमति जुटाएर अघि बढ्न सक्छौं ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने पहिले कांग्रेसले नै ठोस प्रस्ताव ल्याउनुपर्ने तर्क गरे । उनले गठबन्धनभित्रको बैठक बसेर मात्रै धारणा बनाउने भन्दै केही दिन पर्खिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?