१८ मंसिर, काठमाडौं । तपाईंसँग राम्रो क्षमता छ भने जुनसुकै बेला सबैमा परिचित हुनुहुनेछ । जस्तो कि दक्षिण कोरियाली स्ट्राइकर चो ग्यू सुङ आफ्नो आकर्षक अनुहार र गोलस्कोरिङ क्षमताका कारण अनलाइन फ्यान फलोइङ थेग्नै नसक्ने स्थितिमा पुगेका छन् ।
२४ वर्षीय कोरियाली स्टारलाई सोमबार घानाविरुद्धको खेलमा दुई गोल गर्नुअघिसम्म धेरैले याद गरेका थिएनन् । त्यसयता उनको इन्स्टाग्राम फलोअर्स २० हजारबाट बढेर १६ लाख पुगेको छ । अत्यधिक म्यासेज आउँदा उनले आफ्नो मोबाइल स्वीच अफ नै गर्नुपरेको छ ।
उनी कतिसम्म लोकप्रिय भएका छन् भने बेञ्चमा बसिरहेको उनलको भिडियो क्लिप नै सामाजिक सञ्जालमा ७३ लाख पटक शेयर भएको छ । ‘उनलाई आरामको आवश्यकता थियो,’ दक्षिण कोरियाली खेल पत्रकारले आफ्ना साथीहरुसँग शनिबार भने, ‘उनको फोन लगातार बजिरहेको थियो । जसका कारण उनी निदाउन सकेका थिएनन् । उनी फुटबलमा ध्यान केन्द्रित गर्न चाहन्थे तर मोबाइलको म्यासेजले डिस्टर्व भइसकेको थियो ।’
उनी यस्ता व्यक्तिहरुका लागि प्रेरक बन्नसक्छन् जो आफूलाई महत्वहीन मान्छन् । सुङको निजी जिवनको बारेमा खासै धेरै तथ्यहरु बाहिर आएको छैन । तर, एउटा तथ्य के छ भने उनको पहिलादेखि नै एक प्रेमिका छिन् ।
लाइफस्टाइल एसिया नामक वेवसाइटमा सुङको जन्म दक्षिण कोरियाको अन्सन शहरमा सन् १९९८ मा भएको हो । उनका मातापिता दुवै खेलाडी थिए । तर, उनीहरुको नामसहित अरु जानकारी वेवसाइटमा छैन ।
उनले एफसी अन्याङको एकेडेमीमा भर्ना भएपछि फुटबलर बन्ने लक्ष्य राखेका थिए । सुरुमा सुङ रक्षात्मक मिडफिल्डरको भूमिकामा खेल्थे । ग्वाङजु विश्वविद्यालयमा अध्ययनरत रहँदा उनी सोही पोजिसनबाट खेल्थे । तर, उनका प्रशिक्षकले यो पोजिसनबाट खेल्न नसकेको बताएपछि सन् २०१७ देखि स्ट्राइकर बनेका थिए ।
दुई वर्षपछि सुङले एफसी अन्याङको व्यवसायिक टिममा स्थान बनाए । उनको युवा करिअर पनि त्यहीँबाट विकास भएको थियो । के लिग २ मा आफ्नो पहिलो सिजनमै उनी सर्बाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा थिए ।
अर्को सिजनमा उनी कोरियाको शीर्ष डभिजनको क्लब जेओनबुक हुण्डे मोटर्समा अनुबन्ध भए । जहाँ उनी आफ्नो लयका लागि संघर्षरत थिए ।

दक्षिण कोरियामा सबै युवाले अनिवार्य सैन्य तालिम लिनुपर्छ । उनले सन् २०२१ मा तालिम पूरा गरे । सो समयमाद कोरियाको सशस्त्र संगठतको टिम गिमचेन संगमूका लागि खेले ।
करिअरमा अगाडि बढ्न सुङलाई स्तरोन्नत्तिको आवश्यकता थियो । यही वर्ष उनी जेओनबुकमा पुनः अनुबन्धित भए । के लिग वानमा सर्वाधिक गोलकर्ताका साथ उनले क्लबलाई कोरियन एफए कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाए ।
उनलाई सन् २०२१ मा पहिलोपल्ट राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाइएको थियो । सोही वर्षको सेप्टेम्बरमा विश्वकप छनोटअन्तर्गत लेवनानसँगको खेलमा सुङले राष्ट्रिय टिमबाट डेब्यू गरेका हुन् । जेओनबुकमा शानदार सिजनका कारण उनलाई दक्षिण कोरियाको विश्वकप टोलीमा समावेश गरियो । समूहचरणमा घानाविरुद्धको खेलमा सब्स्टिच्युडका रुपमा मैदान छिरेर आफूलाई प्रमाणित गरे ।
६ फिट २ इञ्चका यी फरवार्डले २–० ले पछि परेको स्थितिमा हेडरमार्फत २ गोल गरे र खेल बराबरीमा ल्याए । मोहम्मद कुडुसले विजयी गोल गरेपछि दक्षिण कोरियाले सो खेल जित्न सकेन ।
यो प्रदर्शनसँगै टिकटकमा ह्यासट्याग चोग्यूसुङ निकै लोकप्रिय भएको छ । अहिलेसम्म टिकटकमा १९३ मिलियन भ्यू आएको छ । राष्ट्रिय नायक सन ह्युङ मिनलाई पछि छाड्दै सुङ अब दक्षिण कोरियाली आम जनताको प्रिय हुने बाटोमा छन् ।
प्रतिक्रिया 4