
१८ मंसिर, काठमाडौं । इन्द्र सेञ्चुरीले कपनको साफ्रेढुंगास्थित टहरामा १० वर्ष बिताइसके । ढुंगामाटो र खरले छाएको घरबाट उनको जीवन यात्रा जस्ताको टहरामा आएर अडिएको छ । नुवाकोटको तादी गाउँपालिका–४ का सेञ्चुरीको जीवनमा एकपछि अर्को संकट आइलाग्यो । ती संकटसंग जुध्दाजुध्दै उनी सुकुमबासी हुन पुगे ।
क्षयरोगले ग्रस्त उनको जीवनको ओरालो यात्रा २६ वर्षअघि श्रीमती बिरामी भएपछि सुरु भएको हो । मृगौला रोगी श्रीमतीको उपचारमा उनको जायजेथा सकियो । ‘मृगौला फेल भयो जहानको’, सेञ्चुरी दर्दनाक विगततिर फर्किन्छन्, ‘उपचारका लागि काठमाडौं नुवाकोट गर्दागर्दै सम्पत्ति सकियो ।’
०५३ वैशाखमा मृगौला रोगी श्रीमतीको मृत्यु भयो । ‘जहानले संसार छाडेपछि छोराछोरी हुर्काउन भनेर १ लाख ऋण लिएर गाउँमै बारी किनेँ’, सेन्चुरी सुनाउँछन् ।
अर्काको खेतबारीमा काम गर्दै, भारी बोक्दै परिवार पालिरहेका सेन्चुरीले अर्को विवाह गरे । तर, उनको जीवनले लय भने पक्रिएन । ०५३ फागुनमा घरमा आगो लाग्यो । ‘जहान बिती, घर आगो लाग्यो,’ सेन्चुरी सुस्केरा काढ्छन्, ‘ऋण लागेको थ्यो । विरक्त लाग्यो गाउँमा बस्न सकिन ।’
ऋण गरेर जोडेको बारी बेचेर सेन्चुरीले ऋण तिरे । कमाउने परिवार, जहान पाल्ने सोच बनाएर उनी दुई छोराछोरी र श्रीमती लिएर काठमाडौं छिरे । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ८ मा महिनाको सय रुपैयाँ भाडा तिर्ने सर्तमा सेन्चुरीले डेरा पाए । ग्रिल कारखानामा महिनाको २५ सय रुपैयाँ तलब पाउनेगरी काम पनि पाए ।
‘अब आनन्द हुने भयो भन्ने लागेको थ्यो त्यतिखेर,’ सेन्चुरीको यो आनन्द धेरैदिन टिकेन । समयमा तलब पाएनन् उनले । समयमा भाडा नतिरेको, कोठामा धेरै मान्छे राखेको भन्दै घरबेटीले कोठा छाड्न दबाव दिए ।
कान्छी श्रीमतीबाट पनि दुई जन्मिसकेका थिए । ‘खाने मुख धेरै थिए, छोराछोरीलाई स्कुल पढाउन पाए हुन्थ्यो भन्ने पनि लाग्यो’, कोठा छाड्नु अगाडि सेन्चुरी छोराछोरीलाई पढाउने ठाउँ खोज्न थाले ।
कपन साफ्रेढुंगामा गरिबका छोराछोरी निःशुल्क पढाइदिने अनिता मिलन स्कुल छ भन्ने थाहा पाएपछि सेञ्चुरी स्कुलमा पुगे । छोरी र छोरालाई स्कुल भर्ना गरिसकेपछि उनले आफ्नो बस्ने ठाउँ नभएको गुनासो पोखे ।
स्कुलका प्रधानाध्यपक शिशिर अधिकारीले धोबीखोला नजिकै रहेको आफ्नो दुई रोपनी जग्गामा टहरा बनाएर बस्न भने सेन्चुरीलाई । यहाँ अहिले सेञ्चुरीजस्तै ७ परिवार टहरा बनाएर बसेका छन् । ‘यहाँ बस्ने सबैजना घरजग्गा नभएका मान्छे छन्,’ अधिकारीले भने, ‘सक्नेले भाडा तिर्छन् नसक्नले तिर्दैनन् ।’
८ कक्षासम्म पढाइ हुने अनिता मिलन स्कुलले नै सेञ्चुरीका छोरालाई ९ कक्षा पढाइदियो र १० कक्षा पनि अर्को स्कुलमा न्यूनतम शुल्कमा पढाउने व्यवस्था मिलाइदियो । छोरालाई पढाउने सेन्चुरीको सपना भने पूरा हुन पाएन । ‘अघिल्लो वर्ष छोराले आत्महत्या गर्यो’ सेञ्चुरी भक्कानिन्छन्, ‘वर्षको १२ हजार फिस तिर्न सकिनँ ।’
१० कक्षा पढ्दै गरेको सेञ्चुरीको छोराले गत वर्ष २४ फागुनमा आत्महत्या गरे । सेञ्चुरीको छोरालाई पढाएका शिक्षक अधिकारी भन्छन्, ‘स्कुल नयाँ भयो । त्यहाँ पढ्ने प्राय विद्यार्थी ऊ भन्दा सम्पन्न थिए । उसलाई त्यहाँ समायोजन हुनै गाह्रो भयो जस्तो लाग्छ ।’
इन्द्रकी छोरी अनिता मिलन स्कुलले नै न्यूनतम खर्च व्यहोर्ने गरी कलेज पढिरहेकी छन् । कान्छी पत्नीबाट जन्मिएका दुई छोरा भने मजदुरी गर्छन् । इन्द्रकी श्रीमती एउटा कागज कारखानामा काम गर्छिन् । तर उनको नियमित काम हुँदैन । कहिलेकाँही कारखानाले बोलाएका बेला मात्र उनले काम पाउँछिन् ।
पाँच वर्ष अगाडि इन्द्र आफैं दुर्घटनामा परे । ग्रिल कारखानामा काम गर्दागर्दै फलामको गेट खसेर लाग्दा उनी घाइते भए । ‘औषधि खाऊ भनेर साहुले ५ सय दिएको थियो,’ सेन्चुरी सुनाउँछन्, ‘१५/२० दिनपछि त खोक्दा मुखबाट रगत आउन थाल्यो । पछि डाक्टरले करङमा चोट लागेको छ भने ।’
करङको उपचारकै क्रममा उनलाई क्षयरोग पनि देखियो । ‘दुई वर्ष हुन लाग्यो औषधि खान थालेको,’ सेन्चुरी सुनाउँछन्, ‘एकचोटी अस्पताल गयो भने हजार रुपैयाँ खर्च हुन्छ ।’ खाने माना पनि धौ–धौ गरेर जुटाइरहेका सेन्चुरीलाई अस्पताल आउजाउले गरीबीको रसातलमा पुर्यायो ।
उनको गरीबीमाथि मजाक बनेर आउँछ चुनाव । गएको स्थानीय चुनावमा उनलाई लिन भनेर नेताहरुले गाडी रिजर्ब गरेर पठाए । ‘मेरो घरमा सात भोट छ’, सेन्चुरी सुनाउँछन्, ‘गाडी रिजर्भ गरेर पठाएपछि भोट हाल्न गयौं । आफूले भोट हालेको नेताले जितेपछि यो गरिबलाई हेर्लान् कि भन्ने लागेको थ्यो, चुनाव सकिएपछि त फोन गरेपनि उठाउँदैनन् ।’
भोट चाहिँदासम्म फकाउने र भोट पाइसकेपछि वास्ता नगर्ने नेताहरुको यो चरित्रलाई उनले काव्यात्मक लयमा ढालेका छन् ।
‘भोट माग्न नेताहरु सबैजना आको
नेताहरु भन्न थाल्यो मलाई फकाएर
पीर नगरी बस है हामी पछि आउँला
उनीहरुको स्वार्थ रैछ भोट माग्ने बाटो
पछि आश गर्दागर्दै घामले बाटो काट्यो ।।
यो काव्यांश उनले बिरामी भएर अस्पताल बस्दा सिर्जेका हुन् । ५५ वर्षे सेञ्चुरीले कपनकै भंगालमा रहेको सुकुमबासी बस्तीमा टहरा बनाउन खोजेका थिए । टहरा बनाउनका लागि उनले सरसामान खोज्दाखोज्दै उनको ठाउँ अरुले नै ओगट्यो । ‘यहाँ बसेको भाडा एक वर्षदेखि तिर्न सकेको छैन’, सेञ्चुरी चुकचुकाउँदै भन्छन्, ‘भंगाल (सुकुमबासी बस्ती) मा बस्न पाएको भए भाडा तिर्ने डर त हुँदैनथ्यो ।’
‘सुकुमबासीको जीवनको गुणस्तर’ सम्बन्धी अध्ययन गरेका काठमाडौं विश्वविद्यालयमा तथ्यांकशास्त्र पढाउने किशोर खनालका अनुसार गाउँमा केही नभएर कामको खोजीमा शहर आएका मान्छेहरु नै सुकुमबासी हुने गरेको बताउँछन् ।
उनी भन्छन्, ‘गाउँमा आफ्नो जग्गा जमिन नभएको, भएपनि खान लाउन नपुग्ने मान्छेहरु कामको खोजीमा शहर आउँछन् । शहरमा मजदुरी गरेर पेट पाल्न सकेपनि कोठाभाडा तिर्न उनीहरु सक्षम हुँदैनन् । यस्ता मान्छेहरु निःशुल्क बस्न पाइने ठाउँ खोज्छन् । र, यस्तै ठाउँहरु पछि सुकुमबासी बस्ती हुन्छन् ।’
सरकारी तथ्यांक अनुसार अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर करिब ३५ सय घरधुरी सुकुमबासी छन् । बुढानीलकण्ठ नगरपालिका– १२ र १४ नम्बर वडामा गरेर १ सय ५६ घरधुरी सुकुमबासी छन् । तर, सेञ्चुरी जस्ता मान्छेहरु यो तथ्यांकमा समावेश छैनन् । किनभने उनीहरुले नदी किनार र सरकारी जग्गा ओगटेका छैनन् ।
सेन्चुरी जस्ता मान्छेले आफ्ना गास काटेर भाडा तिरिरहेका छन् । त्यही भाडा तिर्न नसकेर अताल्लिएका उनी भन्छन्, ‘यो ठाउँ पनि छाडेपछि मैले कहाँ जाने ?’ क्षयरोगले फोक्सोमा निमोनिया समेत बनाइसक्यो सेञ्चुरीको । ‘म अब काम गर्न सक्दिन’, सेन्चुरी पीर गर्छन्, ‘के गरेर खाने हो ?’
जीवन सहज हुन्छ भनेर गाउँबाट शहर छिरेका सेञ्चुरीको जीवन शहर आएपछि तहसनहस भयो । शहरदेखि दिक्क भइसकेका उनलाई गाउँ नै फर्किन मन छ । ‘गाउँ फर्किन मन त छ’, सेञ्चुरी भन्छन्, ‘गाउँमा बस्ने खाने जोहो कैही छैन कसरी जानु ?’
न समाउने हाँगो न टेक्ने जमिन भएका सेञ्चुरीजस्ता मान्छे एकछाक खाने, बालबच्चा पढाउने र दुःखको यो दलदलबाट मुक्ति पाउने आशमा सहर छिर्छन् । र, सुकुमबासी हुन्छन् ।
सुकुमबासी र सुकुमबासी बस्तीलाई शहरकै सहउत्पादनका रुपमा अथ्र्याउँछन् सुकुमबासी मामिलाका जानकार रामचन्द्र श्रेष्ठ । मार्टिन चौतारीले प्रकाशन गरेको ‘पैदल अनुसन्धान प्रयोग र उपलब्धी’ किताबमा श्रेष्ठ लेख्छन्, ‘शहरलाई जीवन्त राख्न यस्ता बस्तीको भूमिका रहेको छ । त्यसैले यी बस्तीको वैधताको खोजीलाई समाधान गर्दै शहरलाई सबै खालका मानिसको साझा बस्तीका रुपमा निर्माण गर्नुपर्छ ।’
तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4