
२० मंसिर, धरान । धरान उपमहानगरपालिका-१३ कि एकल महिला उषा राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मुख्य आरोपी धरान-१३ सूर्यमार्गकी उर्मिला राई, सुमित्रा राई, धरान-१७ कि सुशेली राई र रत्न लिम्बू रहेका छन् । हुन् । उनलाई मंसिर १५ गते पक्राउ गरी १० दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
उनीहरु मध्ये सुमित्रालाई मंसिर १६ गते र सुशेली र रत्नलाई मंसिर १८ गते पक्राउ गरिएको थियो । उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय धरानले मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका महिलालाई कुटपिटमा संलग्न रहेको र कुटपिटबाटै उषाको मृत्यु भएको भन्दै मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जना पक्राउ गरिएको र अन्यको खोजी भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
आफ्नो श्रीमान नजिकिएको आरोप लगाउँदै उर्मिला राईको नेतृत्वमा महिलाको समूहले गत कात्तिक ३ गते उषालाई कुटपिट गरेको भिडिओ समेत सार्वजनिक भएको थियो ।
कुटपिटपछि घाइते भएकी उषालार्ई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराइएको थियो । उपचारकै क्रममा मंसिर १३ गते उषाको मृत्यु भएपछि कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न किटानी जाहेरी दिइएको थियो ।
यसअघि मृतक उषाका आफन्त र महिला अधिकारकर्मीहरुले घटनामा संलग्नलाई पक्राउ नगरेसम्म पोस्टमार्टम नगर्ने अडान लिएका थिए । उनीहरुले बिपी प्रतिष्ठानको मर्चरी र इलाका प्रहरी कार्यालय अघि प्रदर्शन गरेका थिए ।
मुख्य आरोपी पक्राउ परेपछि उषाको पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमको रिपोर्ट आउन अझै एक साता लाग्ने बिपी प्रतिष्ठान स्रोतले जनाएको छ ।
प्रहरीले घटनामा संलग्नहरुको पहिचान गरिएकाले खोजीकार्य जारी रहेको बताएको छ । कुटपिटको घटना खिचिएको भिडिओ हेरेर संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्ने प्रहरीको भनाइ छ ।
मृतक उषाका श्रीमानको दुई वर्ष अघि मृत्यु भएको थियो । उनका ८ वर्षीया र २८ वर्षीया दुई छोरी छन् । धरान १३ मा डेरा गरी बस्ने उषा सिलाइबुनाइ पेशा गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन् ।
प्रतिक्रिया 4