
काठमडौं । एलन मस्कले ट्वीटर खरीद गरेसँगै यसको नीति तथा कर्मचारीहरुको कार्यशैलीमा मात्र परिवर्तन गरेका छैनन् सनफ्रान्सिस्कोस्थित कम्पनीको मुख्यालयलाई पनि रोचक बनाएका छन् ।
पछिल्लोपटक सार्वजनिक एक समाचार अनुसार मस्कले ट्वीटर मुख्यालयभित्र अतिरिक्त समय काम गर्ने कर्मचारीहरुलाई सुत्ने कोठा निर्माण गरेका छन् ।
फोर्ब्समा प्रकाशित समाचार अनुसार ट्वीटरका कर्मचारीहरुले सोमबार कार्यालयमा पुग्दा नखोलिएका म्याट्रेस तथा टाँगिएका पर्दाहरु सहितका मध्यम आकारका शयन कक्ष (सुत्ने कोठा)हरु देखेका छन् । साथै कार्यालयमा टेलिप्रिजेन्स मनिटर जडान गरिएको ठूलो कन्फ्रेन्स कक्ष पनि बनाइएको छ ।
फोर्ब्सले प्रकाशित गरेको एउटा कोठाको तस्वीरमा चम्किलो सुन्तला रङको कार्पेट, काठको बेडसाइट टेबल, क्विन साइजको बेड, एउटा टेबल ल्याम्प र दुईवटा कुर्सी देखिएका छन् ।
ट्वीटर मुख्यालयमा कर्मचारीहरु सुत्ने कोठाहरु निर्माण गरिए पनि यस विषयमा कर्मचारीहरुलाई कुनै पनि जानकारी नगराइएको फोर्ब्सले उल्लेख गरेको छ । यी शयन कक्षहरु मस्कको नयाँ कार्यघण्टा योजना मुताविक काम गर्न चाहने कर्मचारीहरुका लागि तयार गरिएको हुनसक्ने बताइएको छ ।
एकजना कर्मचारीलाई उधृत गर्दै समाचारमा लेखिएको छ– यो राम्रो देखिएन । यो भनेको अपमानको अर्को नबोलिने लक्षण हो । यस विषयमा कुनैपनि छलफल भएको छैन । केवल ओछ्यानहरु मात्र देखाइएको छ ।
गत नोभेम्बरमा एकजना ट्वीटर कर्मचारीले कार्यालयमा एक कर्मचारी सुतिरहेको तस्वीर ट्वीट गरेका थिए ।
गत महिना एलन मस्कले ट्वीटरमा कार्यरत ठूलो संख्याका कर्मचारीलाई हटाएका थिए । त्यसलगत्तै केही वरिष्ठ कार्यकारीहरुले सामूहिक राजीनामा दिएका थिए । धेरै कर्मचारीको बहिर्गमन पश्चात् सनफ्रान्सिस्कोस्थित मुख्यालयमा बाँकी रहेका कर्मचारीलाई सम्बोधन गर्दै मस्कले अब सबैजनाले कठीन मिहिनेत गर्नुपर्ने बताएका थिए । उनले ट्वीटरलाई ठिकठाक पार्नका लागि सबैजनाले अतिरिक्त मिहिनेत गर्नुपर्ने र हप्तामा ८० घण्टासम्म काम गर्नुपर्ने पनि बताएका थिए ।
उनले सबै कर्मचारीहरु अनिवार्य रुपमा कार्यालयमा आउनैपर्ने र त्यसो नगरेमा राजीनामा स्वीकृति हुने चेतावनी दिए । अब कार्यालयमा निःशुल्क खानाजस्ता सुविधाहरु पनि निकै कम हुने उनले बताए ।
प्रतिक्रिया 4