
२१ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै २८औं स्थापना दिवसमा आयोजना गर्ने कार्यक्रमबारे जानकारी गराएको हो ।
काठमाडौं महानगरपालिकाले २९ मंसिरका दिन स्थापना दिवस मनाउने गरेको छ । ०५२ साल २९ मंसिरमा काठमाडौं नगरलाई महानगर घोषणा गरिएको थियो ।
महानगरका प्रवक्ता नविन मानन्धरले २३ मंसिरदेखि महानगरले साताव्यापी कार्यक्रम सञ्चालन हुने बताए । साताव्यापी कार्यक्रम अन्तर्गत सरसफाइ, सम्मानदेखि लिएर विविध प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।
चित्रकला तथा तस्वीर प्रदर्शनी, महिला उद्यमशीलतालाई प्रबर्द्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रबर्द्धन गर्न खाना मेला पनि आयोजना हुने उनले बताए ।
स्थापना दिवसलाई भव्य बनाउनका लागि मेयर बालेन साहको अध्यक्षतामा १८७ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको महानगरले जनाएको छ । कामलाई थप व्यवस्थित गर्न १० वटा उपसमिति समेत गठन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया 4