
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । नेपालमा यस वर्ष यो अभियान मंसिर ९ देखि २४ गतेसम्म मनाइँदैछ । ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा तय गरिएको छ ।
विश्वभर सन् २०३० सम्म प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान चल्नेछ । यसरी अभियान चलाउनु सकारात्मक कार्य भए पनि सोचेअनुरूपको सकारात्मकता र सुधारको मार्ग भने पहिल्याउन सकेको छैन । आउनुहोस्, महिला हिंसाको सन्दर्भमा समाजले भोगेका, देखेका तर नदेखेजस्तो गरेका केही सन्दर्भबारे चर्चा गरौं ।
लैंगिक विभेदबाट महिला बढी प्रताडित
समाजमा पुरुष तथा महिला बीच असमानताको खाडल छ । फरक लैंगिक पहिचान भएकै कारण विभेद हुने गर्छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानले यसरी विभेदमा परेका वर्गको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ । लैंगिक हिंसाको चर्चा गर्दा पितृसत्तात्मक सोच हावी रहेको नेपाल जस्तो देशमा महिला नै बढी प्रताडित छन् ।
महिला भएर जन्मिएका कारण, महिलालाई जन्म दिएका कारण महिलाले हिंसा भोग्नु परिरहेको छ । महिलाको स्वरूप धारण गरेर पुरुषलाई आर्थिक, सामाजिक र शारीरिक सन्तुष्टिको चुली लगाइदिन नसकेका कारण उनीहरू प्रताडित छन् । एउटी महिला जन्मपूर्वदेखि मृत्युपश्चात् पनि विभेदमा परिरहेकी हुन्छिन् । विभिन्न खाले विभेदपूर्ण व्यवहार, शोषण, यातना, दुर्व्यवहार मात्रै हैन हत्या समेत हुने गरेको छ ।
महिला विरुद्ध पुरुषले मात्रै हैन, कतिपय अवस्थामा महिलाले पनि हिंसा गर्ने गरेका छन् । यस्ता घटनाले समाज विकासको क्रमलाई प्रत्यक्ष र परोक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । खासगरी जैविक बनावटलाई आधार बनाएर समाजले महिलालाई गर्ने व्यवहार नै विभेदपूर्ण छ । यसले गर्दा उनीहरू हिंसामा परिरहेका हुन्छन् । उनीहरूले जति प्रगति गर्नुपर्ने हो त्यति गर्न सकिरहेका छैनन् ।
हिंसा तथा दुर्व्यवहारले विशेषगरी महिलालाई अधिकार विहीनता, पुरुष श्रेष्ठता, दुर्बलताको भावना उत्पन्न हुन्छ । महिला विरुद्ध हिंसा निर्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा भनिएको छ, ‘महिला विरूद्ध हिंसा भनेको पुरुष र महिला बीचको ऐतिहासिक रूपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो । महिला विरुद्ध हिंसा एक महत्वपूर्ण सामाजिक विकृति हो जहाँ महिलाहरूलाई अधीनस्थ स्थिति र असहज परिस्थितिमा बाँच्न बाध्य पारिन्छ ।’
महिला विरुद्ध हिंसाको केही विशेषताहरूमा, हिंसा प्रायःजसो अपरिचित शृङ्खलामा मात्र हुँदैन र समयसँगै चलिरहन्छ । हिंसा परिचित र नजिककाबाट पनि हुने गर्दछ । महिला विरुद्ध हिंसा सार्वजनिक, निजी क्षेत्र र जीवनको कुनै पनि समयमा आउन सक्छ ।
महिला विरुद्ध हिंसाले प्रायः महिलाको व्यक्तित्व विकास र प्रगतिका अलावा परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनैतिक विकासमा पूर्ण योगदान पुर्याउनबाट रोक्दछ । हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्छ । शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गर्छ ।
अविकसित र विकासोन्मुख देशहरूमा परम्परागत मूल्य–मान्यताका आधारमा गरिने हिंसाका कारण महिला बढी पीडित बन्ने गरेका छन् । घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाको संख्या अधिक छ । त्यस्तै विकसित देशहरूमा स्वच्छन्दताका नाममा र स्वावलम्बनको बहानामा महिलामाथि अनेकांै हिंसा हुने गर्छ ।
बदलिंदै हिंसाको स्वरूप
समाज जहाँ सुकैको होस् वा जुन सुकै अवस्थाको होस् हिजोआज महिला विरुद्ध हुने हिंसाको स्वरूपमा जटिलता र विविधता देखिन थालेको छ । जसलाई व्यक्ति तथा राज्यहरूद्वारा गरिएको हिंसामा विभक्त गरी हेर्न सकिन्छ ।
व्यक्तिले गरेका हिंसाका केही प्रकारहरूमा बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजननमा जबरजस्ती, जर्बजस्ती करणी, हत्या, जन्मपूर्व यौन छनोट, भ्रूण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हिंसा, अपहरणद्वारा विवाह, बहुविवाह, बालविवाह र जबरजस्ती विवाह, आदि ।
राज्यद्वारा गरिएका हिंसाहरूमा सैन्य योद्धाद्वारा हुने बलात्कार, यौन हिंसा र द्वन्द्वको समयमा यौन दासत्व, जबरजस्ती गर्भपात, प्रहरी, सुरक्षाकर्मी र कार्यालयमा कार्यरत महिलामा हुने सांगठनिक हिंसा आदिलाई लिन सकिन्छ ।
संयुक्त राष्ट्रसंघले समय समयमा विज्ञप्ति जारी गर्छ । त्यसलाई हेर्दा विश्वको यस्तो कुनै क्षेत्र, देश छैन र त्यस्तो कुनै संस्कृति छैन जहाँ हिंसाबाट महिलाको स्वतन्त्रता सुरक्षित गरिएको होस् । विश्वमा फरक छ त केवल महिला हिंसाको स्वरूपमा अनि नामकरणमा, त्यस्ता केही प्रतिनिधि स्वरूप र नामकरणका उदाहरणहरूमा दहेज हिंसा र दुलही जलाउने प्रथा भारत, बंगलादेश, श्रीलंका र नेपालसँग सम्बन्धित छ ।
एसिड छयाप्नेमा भारत, बंगलादेश, श्रीलंका र नेपालका अतिरिक्त कम्बोडियासहित दक्षिण पूर्वी एशियामा हुने गर्छ । अनर किलिङ मध्यपूर्व र दक्षिणएशियासँग सम्बन्धित छ । महिलाको यौनाङ्ग काट्ने विकृति अधिकतम रूपमा अफ्रिकामा पाइन्छ, र यो थोरै हदसम्म मध्यपूर्व र एशियाको केही अन्य भागहरूमा पनि पाइन्छ । अपहरणद्वारा हुने विवाहमा इथियोपिया, मध्यएशिया र ककेसियन मुलुकहरू अग्रपंक्तिमा छ ।
महिला हिंसाको कारण
पितृसत्तात्मक व्यवस्थाका कारण सदियौंदेखि महिला विभेदको शिकार हुँदै आएका छन् । नेपाली महिलाउपर हुने ज्यादतीको क्रममा प्रयोग हुने प्रतिनिधि शब्द हो– बोक्सी र वेश्या । केही अपवाद बाहेक कुनै पनि पुरुषलाई बोक्सी र वेश्याको उपमा दिइँदैन ।
बोक्सी वा वेश्याको आरोप लाग्नेहरू प्रायः गरिब, दलित र असहाय हुन्छन् । एकल वृद्ध महिला यसको बढी शिकार भएको देखिन्छ । अर्थात् आर्थिक रूपले विपन्न त्यसमा पनि एकल महिला बोक्सी वा वेश्याकोे आरोपबाट प्रताडित हुने गरेका छन् ।
विभिन्न अन्धविश्वाससँग गाँसिएको हाम्रो सामाजिक मूल्यका कारणले होला महिला माथि नियन्त्रणको दायरा अझै पनि कसिलो छ । त्यस्तो मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हो? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलो गर्नुहुँदैन । यस बाहेक, हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ ।
यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमी, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान शिक्षा प्रणाली, कार्यान्वयन हुन नसकेको कानुन र अपराधीलाई कडा दण्ड–सजाय नगरिनु लैङ्गिक हिंसालाई मलजल गर्ने अन्य कारण हुन् ।
महिला हिंसा न्यूनीकरणको सवाल
हिंसाका कारण, हामीले विवेचित गरेका हुन् कि त्योभन्दा फरक हुन् । त्यसले खासै तात्विक अर्थ नराख्ला । यहाँ समाजको गन्तव्य सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा महिला हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ ।
समग्रमा हामी आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन मानिस भएर यस्ता प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । के सारा पुरुष पापी, क्रूर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ? महिलामाथि हिंसा किन हुन्छ? कसले गर्छ लैङ्गिक हिंसा ?
समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण लैङ्गिक हिंसामा कमी आउनु सट्टा लगातार बढिरहेको छ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानुनी पाना आखिर लैङ्गिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरीह बने होलान्?
अबको बाटो
महिला हिंसाको रोचक प्रसंग र हुन नसकेको सुधार एकआपसमा अन्तरसम्बन्धित छ । महिलामाथिको हिंसाको सन्दर्भमा हामी आम पुरुष वर्गले पुरुष भएर होइन बावु, दाजु वा जीवनसाथी भएर सोच्नुपर्छ । मेरो कारणले असहजतामा पारिरहेका महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । जसरी मेरी छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान अवश्य प्यारो होला ।
त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्छ । के मेरो छोराले कसैको छोरीको बलत्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैन ? कतै मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुर्व्यवहार त गर्ने गरेको छैन ?
हामी पुरुष छोरी, बहिनी, श्रीमती र आमाको सुरक्षा चाहन्छौं तर आफूले हिंसा गरिरहेकी महिला कसैकी छोरी, कसैकी श्रीमती अनि कसैकी बहिनी वा आमा हुन् भन्ने कुरा बिर्सन्छौं । अर्कोतर्फ महिला मित्रहरू आफू र आफू निकटका व्यक्तिहरू हिंसामा नपरून् भन्ने चाहन्छन् । तर मेरो छोरा, मेरो भाइ, मेरो बुवा र मेरो श्रीमान्ले पनि अरू कसैलाई हिंसामा पारेको पो छ कि भनेर कल्पनासम्म पनि गर्दैनौं ।
तसर्थ, घर–परिवारबाट नै एकअर्काको निगरानी र असल शिक्षादीक्षा दिएर बालबालिकालाई हुर्काउन सक्नुपर्छ । नैतिक शिक्षा घरबाटै दिने हो भने अब आउने दिनमा महिला र बालिका विरुद्ध हुने हिंसाको दरमा अवश्य कमी ल्याउन सकिन्छ ।
लेखक वीरगञ्ज महानगरपालिकाका कानुन अधिकृत हुन् ।
प्रतिक्रिया 4