
काठमाडौं । के नेपालले मिस इन्टरनेसनल २०२२ को उपाधि जित्ला ? जित्ने कुरालाई लिएर आशावादी हुन सकिन्छ । तर एउटा कुरा चाहिं के पक्का हो भने नेपाल यो ब्युटी पेजेन्टको दाबेदार पक्कै हो ।
मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले मुलुकको प्रतिनिधित्व गरिरहेकी छन् । डिसेम्बर १३ मा हुने ग्राण्ड फिनालेमा ६८ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल पनि यस संस्करणको दाबेदार हो भन्ने पुष्टि गर्न तीनवटा आधार पर्याप्त छन् । पहिलो- इन्टरनेसनल फोरममा नेपाल छानिन सक्यो । दोस्रो- जापानका मेयरहरुको भेटघाटमा नेपाल प्राथमिकतामा पर्यो र तेस्रो- राष्ट्रसंघीय दिगो विकासको थिममा तयार पारिएको भिडियो प्रस्तुतिमा नेपालले हासिल गरेको प्रतिक्रिया गज्जब छ ।
उक्त भिडियोमा न्यान्सीले मानसिक स्वास्थ्य, बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यजस्ता मुद्दालाई प्रस्तुत गरेकी छन् ।
यसपटकको मिस इन्टरनेसनलको नारा पनि ‘दिगो विकासका लागि सुन्दरता’ भन्ने छ । न्यान्सीले पनि मिस नेपालको फिनालेदेखि नेपाली मिडियासामु आफ्नो क्षमता प्रस्तुत गरिसकेकी छन् । उनको वाचाल कला र गज्जबको उत्तर दिनसक्ने क्षमता लोभलाग्दो छ ।
कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमा हुन लागेको प्रतियोगितामा यतिबेला सुन्दरीहरुले सबटाइटलमा प्रतिस्पर्धा गरिरहेका छन् । जापानको राजधानी टोकियोमा हुने प्रतिस्पर्धामा जानुअघि अनलाइनखबरसँग कुरा गर्दै जितका लागि आफू उत्साहित रहेको बताएकी थिइन् ।
यसपटक मिस अर्थमा पनि नेपालले सिंगो एसिया र ओसियाना क्षेत्रबाट सर्वोत्कृष्ट इको-भिडियो अवार्ड पनि प्राप्त गरेको छ । मिस नेपाल अर्थ सरिशा श्रेष्ठले उक्त अवार्ड यसै साता फिलिपिन्सबाट काठमाडौं फकिइसकेकी छन् ।
प्रतिक्रिया 4