
२५ मंसिर, काठमाडौं । कांग्रेसका दुई महामन्त्रीहरुले खुला घोषणा गरेका छन् : संसदीय दल नेतामा गगन थापाको उम्मेदवारी । दिनैपिच्छेका बैठकहरु त्यसैतर्फ केन्द्रित छन् । आइतबार पनि यही एजेन्डामा शर्मा र शेखर कोइरालाबीच भेटघाट हुँदैछ ।
शुक्रबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसै एजेन्डा वरिपरि छलफल हुँदै थियो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दुई महामन्त्रीहरुले जिस्क्याउने सुर कसे । शर्माले सोधे, ‘सभापतिज्यू समय बदलिँदै गएको छ, हामी त गगन थापालाई संसदीय दलको नेता बनाउन लागेका छौं । तपाईंहरुको तर्फबाट कसलाई उठाउँदै हुनुहुन्छ ?’
देउवाले भने, ‘कल्लाई उठाउने र ? म आफैं उठ्दैछु नि ।’
हिजो शनिबार राति साढे १२ बजे बालुवाटारमा यसैको गफ फेरि चल्यो । शर्माले देउवालाई भनें, ‘तपाईं फुटबल हेर्दैहुनुहुन्छ ? ब्राजिल त हार्यो नि ?’
‘कहाँ हेर्न पाउनु यार !’
‘तपाईंलाई थाहा छ ? ब्राजिल त पाँच पटकको विश्व विजेता हो नि ?’
‘ए, हो है ?’
‘तर छैटौं पटक जितेन नि । तपाईं पनि पाँच पटक (प्रधानमन्त्री) जित्नुभयो, छैटौं पटक भन्न सकिन्न नि ।’
यो बेग्लै कुरा हो, ब्राजिली टिमले कतिपल्ट विश्वकप जित्नेछ भनी कुनै ज्योतिषले ग्रहफल हेरेका छैनन् । अनि देउवा पनि आफैं भिडेर देखाउने मुडमै छन् । थापाको दाबेदारीबारे उनी सचेत भएको त देखिन्छ, तर हिजो फाइनल गरेको समानुपातिक सूची हेर्दा लाग्छ– देउवाले उम्मेदवार बन्नका लागि आफैंले मतदाता छानेका छन् ।
अनलाइनखबरसँग लामो कुराकानीका क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने : ‘हिजो बालुवाटारमा जे कुरा भयो, त्यो सौहार्द्ध वातावरणमै भएको थियो । तर उहाँ (देउवा) लाई परिस्थिति जसरी बदलिँदै छ, त्यो नबुझाइदिनेहरुको कारण पो कमजोरी भइराखेको छ कि ? पाँच पल्ट र छ पल्टको बीचमा कुनै मेडलको फरक हुँदैन । तर कसैलाई जिम्मेवारी सुम्पिँदै गर्दा धेरै ठूलो फरक हुन्छ ।’
देउवाले मनले खाएको नयाँ पुस्ताको प्रतिनिधिलाई अघि बढाए उनीप्रतिको जनसम्मान अझै दोब्बर भएर जाने बताए ।
शर्मासँगको पूरा अन्तर्वार्ता हेर्नुहोस्
प्रतिक्रिया 4