+
+

गाउँपालिका महासंघको महाधिवेशन : नेतृत्वले मुद्दा उठाउन नसकेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १८:३७

२५ मंसिर, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको नेतृत्वप्रति जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । महासंघको तेस्रो महाधिवेशनमा सहभागी जनप्रतिनिधिहरुले महासंघको नेतृत्वले गाउँपालिकाका मुद्दाहरु उठाउन नसकेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

काठमाडौंस्थित प्रज्ञाभवनमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन आइपुगेका जनप्रतिनिधिहरुले महासंघले महाधिवेशन र केन्द्रीय समितिको बैठकबाहेक गाउँपालिकाको हक, अधिकार लगायतका विषयमा अन्तर सरकारी समन्वय र लबिइङ गर्न नसकेको गुनासो गरे ।

नुवाकोटको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षहरुलाई निर्वाचन आयोगले जरिवाना गर्दा महासंघ चुइँक्क नबोलेको गुनासो गरे । उनले स्थानीय तहलाई नै धेरै अधिकार संविधानले दिएको भन्दै महासंघ छाता संस्था मात्रै भएको तर्क गरे ।

कार्यक्रम स्थलमा भेटिएका केही जनप्रतिनिधिहरुसँग अनलाइनखबरले राखेको जिज्ञासमा उनीहरुले कार्यक्रमको औपचारिकता मात्रै पूरा गर्न आएको प्रतिक्रिया दिए । एक जना जनप्रतिनिधिले भने, ‘यो बिरालो बाँधेर श्राद्ध गर्न लागेको जस्तै कार्यक्रम हो । हामी आफैं हाम्रो ठाउँको नेता हौं, फेरि भाषण किन सुन्न बोलाएको होला ? अधिवेशनबाट जो आएपनि गर्ने केही होइन, यस अगाडिको कार्यकालमा गाउँपालिकाको लागि केही भएन, अब पनि के हुन्छ र ?’

महासंघको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै कतिपय गाउँपालिकाका जनप्रतिनिधिहरु कार्यक्रममा सहभागी हुन आएका छैनन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष मञ्जु बुढाथोकी पनि कार्यक्रममा सहभागी हुन आएका छैनन् । गाउँपालिकाको हकहितका लागि केही गर्न नसक्ने महासंघमा सहभागी हुनुकाे अर्थ नरहेको मल्ल र बुढाथोकीको भनाइ छ ।

महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले यो अधिवेशनबाट ६ वर्षका लागि नयाँ नेतृत्व चयन हुने बताउँछन् । अधिवेशनमा वित्तीय संघीयता, प्रशासनिक संघीयता, अन्तर सरकार सञ्चालनका चुनौती र सवाल लगायतका विषयमा छलफल हुने श्रेष्ठले बताए ।

मंगलबारसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?