
२५ मंसिर, काठमाडौं । थाइल्याण्ड र नेपालबीचको पर्यटन व्यापार घाटामा चलिरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक र थाइल्याण्डको पर्यटन तथा खेलकुल मन्त्रालयको तथ्यांक तुलना गर्दा यस्तो तथ्य पाइएको छ । सन् २०२२ को १० महिनाको अवधिमा नेपालबाट थाइल्याण्डको भ्रमणमा १० हजार ३५० जना नेपाली पुगेका छन् । थाइल्याण्ड पर्यटन बजारको स्रोत बजारमध्ये पछिल्लो समय नेपाल पनि एक मुख्य देशका रुपमा रहन थालेको पाइएको छ । तर, यस अवधिमा थाइल्याण्डबाट भने मात्र ४ हजार ३३९ जना मात्र पर्यटक नेपाल भ्रमणमा आएका छन् । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ५ महिनायता नेपालबाट थाइल्याण्ड जाने नेपालीको संख्या ह्वात्तै बढ्न थालेको छ ।
व्यवसायीहरुका अनुसार थाइल्याण्ड नेपाली नागरिकका लागि भारतपछि तुलनात्मक रुपमा सहज मुलुक मानिन्छ । यो देशले नेपालीलाई अनअराइभल भिसा दिन्छ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का महासचिव विनोद सापकोटाका अनुसार थाइल्याण्ड भ्रमण गरिसकेका नागरिकले युरोप र अमेरिकामा सहजै भिसा पाउने आशमा समेत एक पटक यो मुलुक पुग्ने ट्रेण्ड छ । उनका अनुसार थाइल्याण्ड तुलनात्मक रुपमा सस्तो मुलुक हो ।
यहाँका होटल तथा बसाइ नेपालकै हाराहारीमा खर्च गर्दा सहजै घुम्न सकिन्छ । पछिल्लो समय नेपाल र थाइल्याण्डबीच बढेको हवाई सञ्जालका कारण पनि नेपालबाट थाइल्याण्ड जानेको संख्या बढेको उनको भनाइ छ । यसबाहेक मनोरञ्जनका लागि बिदा मनाउन थाइल्याण्ड रोज्ने नेपाली समेत उच्च रहेको उनको भनाइ छ । कोभिड-१९ महामारीका कारण पछिल्लो दुई वर्षयता रोकिएका गन्तव्यमा क्रमशः प्रतिबन्धहरु खुला गर्दा समेत लामो समय घुम्न नपाएका नेपालीको घुमफिरमा निस्कन थालेको व्यवसायीको भनाइ छ ।
कुन महिनामा कति नेपाली पुगे थाइल्याण्ड ?
- जनवरी : १०९
- फेब्रुअरी : १७२
- मार्च : ३२९
- अप्रिल : ४२६
- मे : ४६६
- जुन : १,००४
- जुलाई : १,८१२
- अगष्ट : १,९८९
- सेप्टेम्बर : १,७७३
- अक्टोबर : २,२७०
थाइल्याण्डबाट १० महिनामा कति थाइ नागरिक नेपाल आए ?
- जनवरी : १२१
- फेब्रुअरी : १९०
- मार्च : २७३
- अप्रिल : ५०५
- मे : २९२
- जुन : ३०५
- जुलाई : ४३०
- अगष्ट : २८४
- सेप्टेम्बर : ६४३
- अक्टोबर : १,२९६
थाइल्याण्ड नेपाली पर्यटनका लागि समेत स्रोत बजार बन्ने सम्भावना थियो । यसमा बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भित्राउन सक्ने सम्भावना छ । तर, नेपालले यो सम्भावनालाई भने यथार्थमा उतार्न सकेको छैन । यस वर्ष सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड सिधा उडान शुरु हुन सकेको छैन । यो विमानस्थल सञ्चालनको योजना बन्दै गर्दा थाइलयाण्ड, भियतनामसहितका मुलुकबाट सिधा उडानमार्फत बौद्धमार्गी पर्यटक भित्राउन सक्ने अनुमान गरिएको थियो । सन् २०२२ को १० महिनामा ४ हजार ३३९ जना थाइ नागरिक नेपाल भ्रमणमा आएकोमा नोभम्बर महिनामा भने एकै महिनामा २ हजार ४४१ जना थाइ पर्यटक नेपाल आएका छन् । यसले आगामी दिनमा भने थाइ पर्यटक क्रमशः बढ्ने संकेत देखिएको छ ।
प्रतिक्रिया 4