
२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिम पराजित भएको छ ।
काठमाडौंको दशरथ रंगशालामा महानगर दिवसको अवसरमा सोमबार भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेन (बालेन्द्र) साहको टिमलाई ६—१ ले पराजित गरेको हो ।
मेयर साहको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वमा कर्मचारीको टिमबीच प्रतिष्पर्धा भएको हो ।
मेयर साहको टिममा मेयरसहित विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि र प्रशासकीय अधिकृत अधिकारीको टिममा कर्मचारी र नगर प्रहरी सहभागी थिए ।
जनप्रतिनिधिको टिम कप्तान भएपनि मेयर बालेन्द्र साह खेलको उत्तराद्र्धमा मात्रै मैदानमा छिरेका थिए । मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो ।
खेलले आपसी सम्बन्धलाई प्रगाढ बनाउने विश्वास
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यो खेलले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरिन् ।
महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने बताइन् । उनले जनप्रतिनिधिहरु खेल हारेपनि फुटबल आयोजनाको उद्देश्य अनुरुप पूरा भएको उनले बताइन् ।
प्रतिक्रिया 4