
काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’लाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सकारात्मक समीक्षा दिएका छन् ।
उत्तर अमेरिकामा १७५ मिलियन डलर र भारतमा ५० करोड भारुको ओपनिङ गर्ने प्रक्षेपणको बीच ‘अवतार २’ प्रदर्शन हुन लागेको हो । नेपालमा फिल्मले एक करोडभन्दा बढीको ओपनिङ गर्ने प्रक्षेपण छ ।
जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को दोस्रो श्रृंखला १३ वर्षपछि शुक्रबार विश्वभर प्रदर्शन हुँदैछ ।
भेराइटी म्यागजिनका समीक्षक डेभिड एलिच लेख्छन्, ‘अवतार : द वे अफ वाटरमा निर्देशक क्यामरुनले विशाल, लामो र शानदार संसारलाई चकित पार्ने शानदार सिक्वेल बनाएका छन् । हरेक कोणबाट उनले हामीलाई पाण्डोरा ग्रहमा फिर्ता लैजान प्रविधिको अधिकतम उपयोग गरेका छन् ।’
भेराइटीले फिल्मको ड्रामाटिक डायमेन्सनमा केही कमजोरी रहे पनि दर्शकले त्यसलाई बेवास्ता गर्ने लेखेको छ ।
इन्डीवायरका समीक्षक ओबेन ग्लिरबरम्यान लेख्छन्, ‘जेम्स क्यामरुनको अवतार फिल्म हलको अनुभवका लागि बनाइएको हो । फिल्म निर्माता पनि साँचो अर्थमा पान्डोरामा फर्कनेबारे शंकास्पद थिए, तर द वे अफ वाटर अघिल्लो भागबाट सुधारिएको फिल्म हो ।’
हलिउड रिपोर्टरका समीक्षक डेभिड रुनी लेख्छन्, ‘जेम्स क्यामरुनको यो मेगा सिक्वेलले एक्सन, इमोसन र थ्रिलिङ थ्रीडी भिजुअल प्रदान गर्छ ।’
उनी लेख्छन्, ‘कथा परिष्कार र अझ धेरै संवादको सन्दर्भमा यो ३५० मिलियन डलरको सिक्वेल पूर्ववर्ती जस्तै सामान्य छ, कहिलेकाहीं कमजोर पनि । तर विस्तारित, जैविक विविधतापूर्ण विश्व-निर्माणले तपाईंलाई भित्र तान्छ, दृश्यले तपाईंलाई मन्त्रमुग्ध बनाउँछ । वातावरणीय जागरूकताको जोशप्रति उत्तेजित बनाउँछ र मल्टिप्लेक्स दर्शकले चाहेजस्तो भिजुअल र रोमाञ्चकता प्रदान गर्छ ।
चर्चित भारतीय वेब-पोर्टल बलिउड हंगामाले फिल्मलाई ५ मा ४.५ तारा रेटिङ दिएको छ । ‘अवतार : द वे अफ वाटर’ आँखा र मन तान्ने दृश्यहरु, यसअघि कहिल्यै नदेखिएको फिल्मको आयाम, तालीको लागि योग्य क्लाइमेक्स र बलियो भावनात्मक आत्मामा आधारित छ ।’
प्रतिक्रिया 4