
२८ मंसिर, काठमाडौं । सात प्रदेशबाट छानिएका १२० जना महिलाका लागि निःशुल्क माउन्टेन गाइड तालिम सुरु भएको छ ।
काठमाडौंमा सुरु भएको तालिममा सातै प्रदेशका २५ जिल्लाबाट १२० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
तालिमको शुभारम्भ गर्दै बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले पर्वतारोहण क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले एएमएसँगको सहकार्यमा तालिम सुरु गरिएको बताए । यसले पर्वतारोहण क्षेत्रमा नयाँ जनशक्ति तयार हुने उनको भनाइ छ । तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यहारिक कक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।
नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक रुद्रप्रसाद चापागाईंले तालिमले पर्यटनमा महिला सहभागिता बढाउने बताए । रोजगारीमा समेत यसले योगदान पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । सीमित संख्यामा मात्र तालिम दिने गरी देशैभरबाट प्रस्ताव आह्वान गरी प्रशिक्षार्थी छनोट गरिएको परियोजनाले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जिविकोपार्जनका पुनर्उत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी)ले तालिमको आयोजना गरेको हो । जसलाई नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)ले समेत सहयोग गरेको छ । तालिम ३५ दिनसम्म चल्ने छ ।
प्रतिक्रिया 4