
काठमाडौं । अभिनेत्री आना शर्मालाई लिएर फिल्म ‘बदलिंदो आकाश’ निर्माण हुने भएको छ । नेपाल, भारतको दार्जिलिङ र सिक्किममा छायांकन हुने फिल्ममा आनाको प्रमुख भूमिका हुनेछ ।
भारतको फिल्म विकास निगम (एनएफडीसी)ले आयोजना गरेको फिल्म बजारमा छानिएको स्क्रिप्टमाथि फिल्म निर्माण हुन लागेको हो । मच्छिन्द्र योङ्ग्यले निर्देशन गर्ने फिल्मको निर्माण अनुप पौडेलले गर्नेछन् ।
अनुपको फिल्म ‘लोरी’ अहिले ओस्कार अवार्डमा प्रतिस्पर्धाको तयारीमा छ । लोरीले यस वर्ष कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी प्राइज जित्ने कीर्तिमान रचेको थियो ।
अंग्रेजी नाम ‘चेन्जिङ स्काइ’ राखिएको फिल्ममा आना मात्र अनुबन्धित छिन् । अन्य कलाकार चाँडै तय गरिने अनुपले जानकारी दिए । ट्राभल कथावस्तुमा निर्माण भएको फिल्मलाई तन्नेरी दर्शकले रुचाउन सक्ने निर्माता पौडेलको अपेक्षा छ ।

अभिनेत्री आनाले ‘बदलिंदो आकाश’मार्फत अन्तर्राष्ट्रिय बजारमा पुग्न सजिलो हुने बताइन् । आनाका फिल्महरु ‘मायाको माया’ छायांकन हुँदैछ भने ‘जेरी २’ मा अभिनय गर्ने चर्चा छ, तर निश्चित भइसकेको छैन ।
प्रतिक्रिया 4