
काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्ध सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । ‘अरेञ्ज द वर्ल्ड’ नामक सो अभियान अन्तर्गत पूर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दस (१०) महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघमा आवद्ध भएर नेपालको इज्जत राख्न सफल पहिलो महिला विनिता राई, एकल खुट्टाले नाँचेर चर्चित भएकी रोमा न्यौपाने, पहिलो महिला नायब महानिरीक्षक मीरा चौधरी र मानव अधिकार अधिवक्ता प्रपुसा केसीसँग महिला हिंसा र उनीहरुको अनुभवबारे पोडकास्टमा समावेश गरिएको कम्पनीले जनाएको छ ।
नेपालकै पहिलो कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान, अधिकारको क्षेत्रमा क्रियाशील शैली चौधरी, कैदी सहायता नेपालकी इन्दिरा रानामगर, नेपाल महिला राष्ट्रिय फूटबल टिमकी कान्छी खेलाडी प्रीति कुलुङ राई, गर्ल्स इन टेककी आस्था शर्मा, भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक प्राडा. नीलम श्रेष्ठ र वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व (सीएसआर) की प्रमुख अनुपा जालानसँग गरिएको कुराकानी समेत पोडकास्टमा समावेश गरिएको कम्पनीको भनाइ छ ।
समापन कार्यक्रममा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वर्ल्डलिंकले महिलाविरुद्धको हिंसाबारे सचेतना जगाउन सञ्चालन गरेको अभियानले लैंगिक हिंसा न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने बताइन् ।
वर्ल्डलिंक कम्पनीका निर्देशक बोर्डका लक्ष्मण यादवले सूचना प्रवाहले नागरिकको जीवनमा ठूलो परिवर्तन ल्याउने बताए ।
कार्यक्रममा गर्ल्स इन टेककी आस्था शर्मा र फुटबल खेलाडी प्रीति राईले आआफ्नो अनुभव सेयर गरेकी थिइन् । कम्पनीकी सीएसआर प्रमुख अनुपा जालान र कार्यक्रम व्यवस्थापक अन्जलिता भुसालले वर्ल्डलिंकले सीएसआर अन्तर्गत लैंगिक समानता, स्वच्छ ऊर्जा लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी गराएका थिए ।
प्रतिक्रिया 4