+
+

कांग्रेसबाट को बन्ला सुदूरपश्चिम संसदीय दलको नेता ?           

जनक विष्ट जनक विष्ट
२०७९ पुष १ गते ७:५४
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताका आकांक्षीहरु वायाँबाट– बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल शाह, मेघराज खड्का र प्रकाशबहादुर देउवा ।

१ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षी प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता बन्न दौडधुप तीव्र बनाएका छन् ।

कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले आकांक्षीहरुले लबिइङ थालेका हुन् । पाँच जना आकांक्षी देखिएका बेला दलको नेता सर्वसम्मत चयन होला वा मतदान होला भन्ने चासो बढेको छ । कांग्रेसका नेता र आकांक्षीहरु भने दुवै विकल्प खुला भएको बताउँछन् ।

को–को छन् आकांक्षी ?

कांग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल शाह र मेघराज खड्का गरी पाँच जना नेता मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका छन् ।

संविधानसभा सदस्य भइसकेका बहादुरसिंह थापा प्रदेशसभामा निर्वाचित नेतामध्ये अरुभन्दा आफू सिनियर भएको दाबी गर्छन् ।  भन्छन्, ‘संसदीय दलको नेता चयनका सम्बन्धमा पार्टीभित्र छलफल भइसकेको अवस्था छैन । तर चयनका सम्बन्धमा प्रक्रियागत रुपमा पार्टीमा हुने सहमतिका आधारमा सर्वसम्मत पनि हुनसक्छ ।’

अर्का आकांक्षी मेघराज खड्का संसदीय दलको नेता सर्वसम्मत रुपले चयन गर्ने प्रयास रहने बताउँछन् । ‘प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेपछि सबै जना मुख्यमन्त्री, मन्त्री, दलको नेताको दौडमा हुनुलाई स्वाभाविक रुपमा लिनुपर्छ । सबै योग्य हुनुहुन्छ,’ खड्काले भने, ‘सबै रेसमा भए पनि एकखालको सहमति बन्छ भन्ने विश्वास छ । नेतृत्वको सुझाव, सल्लाह र निर्देशन पनि होला । त्यसैले विवाद होला जस्तो लाग्दैन । सहमतिमै दलको नेता चयन हुन्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सहकार्यमा प्रदेशसभाको चुनाव लडेको बताउने दिवानसिंह विष्ट भने पार्टी निर्माणमा पुर्‍याएको योगदान, त्याग तथा पुराना नेताका हिसाबले दलको नेतामा थापा र आफू नै बलियो दाबेदार भएको बताउँछन् ।

आफ्नो योगदानलाई ध्यानमा राखेर नेतृत्वले जिम्मेवारी दिने बताउने संस्थापन इतरका विष्ट सर्वसम्मत रुपमा दलको नेता चयन हुनेमा विश्वस्त छन् । निर्वाचनमा जाँदा आफ्नो पक्षमा बहुमत नपुग्ने बुझेका विष्टले सर्वसम्मत रुपमै नेता चयन हुनुपर्नेमा जोड दिएको देखिन्छ । ‘निर्वाचन हुने अवस्थामा कसैको बहुमत पुग्ला, कसैको नपुग्ला तर पार्टीमा गरेको योगदान, सिनियर, जुनियर जस्ता विभिन्न पक्षहरु प्नि हेर्नुपर्ने हुन्छ,’ विष्टले भने, ‘दलको नेता सर्वसम्मत रुपमै चयन हुन्छ जस्तो लाग्छ ।’

समर्थकहरुले दलको नेता र भावी मुख्यमन्त्रीका रुपमा अघि सारेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाले भने खुलेर प्रतिक्रिया दिंदैनन् । दलको नेता र मुख्यमन्त्री यो बन्छ, ऊ बन्छ भनेर नहुने बताउँदै उनले पार्टी नेतृत्व र नेताहरुबीचको समझदारीमा भर पर्ने बताए । ‘अहिले मुख्यमन्त्री म हुन्छु भनेर भन्दिनँ तर संसदीय दलको नेता छानिने व्यक्ति नै मुख्यमन्त्री बन्छ,’ देउवाले भने, ‘दलको नेता पार्टी निर्णयका आधारमा छानिन्छ ।’ उनको यो भनाइलाई कतिपयले नेताहरुले अर्थपूर्ण भनेका छन् ।

कैलाली–५ को प्रदेशसभा (२) बाट जितेका प्रकाशलाई, दोहोरिने इच्छा व्यक्त गरेका डिल्लीराज पन्तलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएर सभापति देउवाले टिकट दिएका थिए । अहिले देउवाले भतिजालाई नै संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनाउने चाहना राखेको नेताहरु बताउँछन् । ‘शेरबहादुर दाइ भन्दा दायाँबायाँ हुने वा विद्रोह गर्न सक्ने क्षमता सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित साथीहरुको छैन । उहाँले जे–जे भन्यो त्यही मान्ने परस्थिति बन्न सक्छ,’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘देउवा दाइले भतिजालाई नै दलको नेता बनाउने सम्भावनालाई नर्कान मिल्दैन तर त्यो उहाँको इच्छा र स्वविवेकमा भर पर्ने कुरा भयो ।’

पूर्व सांसद खड्का भन्छन्– देउवाकै इच्छाअनुसार दलको नेता चयन

सुदूरपश्चिम प्रदेशसभाका पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता भरतबहादुर खड्का पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाकै इच्छाअनुसार संसदीय दलको नेता चयन हुने बताउँछन् । तर देउवाले भतिजालाई नै दलको नेता बनाउलान् त ? भन्ने जिज्ञासामा उनले त्यसबारे अनुमान गर्न नसकिने बताए । ‘कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर दाइकै चाहानाअनुसार हुन्छ । उनले जो नेतालाई सिफारिस गर्यो त्यही दलको नेता बन्छ लेखेर राख्नुस्,’ खड्काले भने, ‘यो वा त्यो पात्रका बारेमा म केही टिप्पणी गर्दैन ।’

खड्का जस्तै कांग्रेसका अरु नेताहरु पनि देउवाले चाहेकै व्यक्ति दलको नेता हुनेमा शंका नरहेको बताउने गरेका छन् ।

१९ जना प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस सुदूरपश्चिममा संस्थापन पक्षभित्रै विभिन्न गुट छन् । यहाँ संस्थापन पक्षमा प्रधानमन्त्री देउवा पत्नी आरजु, नेता एनपी साउद र रमेश लेखक तथा प्रदेश सभापति वीरबहादुर बलायरको समूह छ भने इतर समूहमा शेखर कोइराला पक्ष छ ।

१९ जना मध्ये आरजुको समूहमा प्रकाश देउवा, रक्षा महरा, ललिता सुनार लगायतका ८ जना छन् । बहादुर थापा, मेघराज खड्का लगायतका ५ जना एनपी साउँदको पक्षमा र शिवराज भट्ट, मधु भारती लगायतका ३ जना रमेश लेखकका् पक्षमा छन् । तुलसी देवकोटा बिरबहादुर बलायर तथा दिवान विष्ट र कमल शाह कोइराला पक्षका मानिन्छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?