
१ पुस,बुटवल । भारतीय ओभरलोड ट्रकका कारण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाली ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् ।
विभिन्न ट्रक व्यवसायी संस्थाहरुले शुक्रबार बेलहिया नाकामा विरोध प्रदर्शन गर्दै माग सम्बोधन नभए भन्सार नाका ठप्प पार्ने चेतावनी दिएका छन् ।
भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो पेशा नै संकटमा पर्न थालेपछि आन्दोलनको विकल्प नरहेको बताएका छन् ।
नेपाल सरकारले भारतीय ओभरलोड गाडीहरु व्यवस्थापन नगरे व्यवसायी आफैले भारतीय ट्रक रोकेर ओभरलोड सामान नेपाल छिर्न नदिने चेतावनी दिएका छन् ।
नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिको अगुवाईमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय अगाडि बिरोध सभा गरेका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारी निकायका अधिकारीहरुको सेटिङमै ओभरलोड गाडीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेको आरोप लगाए । बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिंदा नेपाली ट्रक व्यवसायीहरु संकटमा परेको बताउदै उनले माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्ने बताए ।
प्रहरी प्रशासनले नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको तर भारतीयबाट घुस लिएर छुट दिने गरेको पोखरेलको आरोप छ । ‘कानुन सबैलाई समान हुनुपर्नेमा आर्थिक प्रलोभन र चलखेलले नेपाली व्यवसायीलाई मात्रै कडाई गरिएको छ’–पोखरेलले भने ।
ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले माग राख्दै आए पनि अहिलेसम्म यसको सुनुवाई हुन सकेको छैन । नेपाल ट्रक यातायात व्यवसायीमहासंघका लुम्बिनी प्रदेशका अध्यक्ष यमप्रसाद पाण्डेले भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनुपर्ने माग गरे ।
निर्देशिकाको बुँदा नम्बर १० मा पनि तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारी धनिले नै त्यस्तो समानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने भनि उल्लेख गरेको भएपनि कार्यान्वयनमा बेवास्ता भएको उनले गुनासो गरे ।
यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउंदैनन् ।
नेपालमा ३० टन भन्दा बढी भार बोक्नै पाईदैन । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् ।
९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्विकृति दिएको हुन्छ ।
भन्सारले ओभरलोड भएका बस्तुहरु भन्सार बिन्दुमै मिलान गर्नु पर्ने र यसो नगरे भन्सारकै अगाडी धर्ना बस्ने पाण्डेले बताए ।
‘सरकारले हाम्रो माग बारे सुनुवाइ नगर्ने हो भने हामी भन्सारबाट कुनै ट्रक छिर्न दिदैनौं अथवा हाम्रो ट्रकका चापी सरकारलाई सुम्पिन बाध्य हुने छौं’ पाण्डेले भने ।
प्रतिक्रिया 4