
३ पुस, काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन -आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ । यसरी बाँडफाँट गर्दा ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले कुल सात लाख कित्ता सेयर सार्वजनिक निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबोट स्वीकृत पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर छुट्याएको थियो ।
तर, १ लाख ४ हजार कित्ता सेयरमा निवेदन परेन । उक्त सेयर समेत थप गरी कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । जसको ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
जसमध्ये ५१ हजार ५२२ जनमाले १० कित्ताका दरले सेयर पाएका हुन् ।
उक्त आईपीओमा आवेदन दिएकामध्ये ११ लाख ९१ हजार २८४ आवेदनमार्फत १ करोड ३० लाख ७८ हजार १०० कित्ताको लागि योग्य आवेदन प्राप्त भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि २१ मंसिरदेखि २६ मंसिरसम्म आवेदन माग गरेको थियो ।
बाराही हाइड्रोपावर कम्पनीले बाग्लुङमा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।
प्रतिक्रिया 4