+
+

आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १६:४०
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत ।

३ पुस, काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुन्छ ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको कांग्रेसले बताएको छ । तर ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेस प्रवक्ता महत भन्छन्, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरुसँग पनि छलफल हुन्छ ।’

आइतबारकै बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । मंगलबार वा बुधबार दलको चुनाव हुनेछ ।

आफूहरुको प्रयास पार्टी सभापतिकै नाममा सहमति जुटाउने भएको भन्दै कांग्रेस प्रवक्ता डा. महत भन्छन्, ‘सर्वसम्मत भए राम्रो, नभए लोकतान्त्रिक प्रक्रिया छँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?