
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सधैं चर्चामा रहने व्यक्ति बनेका छन् । विगत ६ महिनादेखि उनले आफ्नो चुनावी वाचा अनुसार धराने जनतालाई जसरी पनि खानेपानीको जोहो गर्न लागिपरे ।
सरकारी स्रोत–साधनको अत्यन्त कम उपयोग र देश–विदेशमा रहेका नेपालीको सहयोगमा चार ठाउँका खोलाहरूबाट पानी ल्याएर वाहवाही कमाए । उनले गरेको काम हेर्दा लाग्थ्यो उनी धरानको मात्र होइन देशकै नायक हुन योग्य मान्छे हुन् ।
यसैलाई सम्बोधन गरेर देशले खोजेको नायक शीर्षकमा एउटा लेख नै लेखुँ भन्ने लागेको थियो । तर समयले उनी खलनायक पो हुन् कि भनेर लेख्नुपर्ने अवस्थामा पुगेको छु ।
उनले केही समय अगाडि आफ्नो सामाजिक सञ्जालमा ‘हर्क साम्पाङ अ रिभोलुशन’ भन्ने फेसबूक वालमा एउटा पोस्ट गरे । जसमा भनिएको छ— ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे बुद्धि ।’
उनको यो पोस्टको दलित समुदायले मात्र होइन कि खासगरी जनजाति त्यसमा पनि उनकै राई समुदायले पनि विरोध गरिरहेका छन् । तर उनले आफूले देशको करिब १४ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायसँग सार्वजनिक माफी माग्नुको सट्टा फेरि अर्को पोस्ट गरे, ‘चमारे भन्ने कुनै थर छ र ? चमार भन्ने पो छ होइन र ? नहुने कुरा नगरौं है साथीहरू ।’

उनको यो अर्को पोस्टले आगोमा घिउ थप्ने काम गर्यो र दलित अभियन्ताहरू झन् उग्र भए र उनकोविरुद्ध विभिन्न विषयलाई समेटेर सयौंको संख्यामा पोस्टहरू निस्के । यसबाट पनि उनले पाठ सिकेनन् । बरु ‘दलित भन्ने शब्दको आडमा राजनीति नगरौं’ भन्ने अर्को पोस्ट लेखे ।
‘एक्काइसौं शताब्दीमा आएर दलित भन्ने शब्दलाई पालेर राजनीति गर्नेहरूलाई देख्दा साह्रै दया लागेर आउँछ । समानता आइसकेको छ, तर मनको रोग निको हुन नसकेको र निको हुन नदिएको देख्दा अचम्म लाग्छ जन्तरेउ ।’
यो पोस्टसम्म आउँदा पनि उनमा कुनै एउटा ठूलो समुदायको अपमान भएको सोच्नु भन्दा दलितको नाउँमा राजनीति गरेको आरोप लगाएका छन् । त्यसपछि राष्ट्रिय दलित आयोगले उनलाई आफ्नो अभिव्यक्ति सच्याउन र माफी माग्न आह्वान गर्यो तर उनले देशको संवैधानिक आयोगको विरुद्ध फेरि अर्को पोस्ट गरे, ‘कुनै झ्यासझुस आयोग–सायोगले मलाई जिताएको होइन । सार्वभौम धराने जनताको म्यान्डेट पाएर आएको नगरप्रमुख हुँ । उसको कारबाहीको माग त उस्स !’
यी सबै पोस्ट बाहिर आइसकेपछि दलित आयोगले आफ्नो अधिकार क्षेत्रभित्र रहेको सिफारिशको अधिकार प्रयोग गरी गृह मन्त्रालयलाई कारबाहीको लागि पत्राचार गरेको छ । यी सबै प्रकरणहरू हेर्दा धरानका मेयरले दलित आयोगलगायत सम्पूर्ण दलित समुदाय उपर जाइलाग्ने नै सोच बनाएको देखिन्छ ।
यो चमारे शब्दले किन नेपालका दलितलाई उद्वेलित बनाएको छ भन्ने कुरा बुझ्न म यहाँ उमेरले २५÷३० वर्ष पुगेका दलित युवक जेके गजमेरको भनाइ राख्न चाहन्छु । मेयर साम्पाङले जुन अभिव्यक्ति सार्वजनिक गरे त्यसको पृष्ठभूमिको बारेमा उनले उजागर गर्दै भनेका छन् ।
अहिले धरानको पुरानो बसपार्कलाई ठूलो बजेटसहितको योजना अनुसार फराकिलो बनाइँदैछ । फराकिलो बनाउने भनेपछि त्यसमा रहेका वैध वा अवैध घरटहरा भत्किने भए । ज-जसलाई त्यसले असर गरेको छ उनीहरू धरान नगरपालिका घेर्न पुगे ।
स्थिति यति अराजक बन्यो कि त्यसलाई सम्हाल्न प्रहरीकै मद्दत लिनु पर्यो । त्यसरी घेर्न जानेमा कुनै दलित थिएनन् । तर, एक प्रकारका उद्दण्ड मेयरले स्टाटस लेख्दै त्यसरी घेर्न आउनेलाई गाली गरे ।
इतिहासको विभिन्न कालखण्डमा हाम्रा बाउबाजेले कुनै गल्ती नहुँदा पनि घृणा र अपमान बोध हुने गालीहरू सहेर मात्र बसेनन्, बाटो हिंड्दा कुनै उपल्लो जातको मान्छे भेटिए बाटो तल गएर सम्मान व्यक्त गरे । नेपालीको पहिचान बनेको टोपी लाउँदा पनि घेरो फाटेको त्यो पनि निधार भन्दा धेरै माथि लगाएर हिंडे ।
अहिले काठमाडौं महानगरका मेयर बालेन शाह पनि चर्चामा छन् । जब उनले राम्रो काम गर्छन् त्यतिबेला ‘शाह राजाहरूले जस्तो काम गरेको’ भनेर प्रशंसा गरिन्छ तर जब उनले सुकुम्बासी बस्तीमा डोजर चलाउँछन्, उनलाई गाली गर्दा ‘त्यो कहाँ शाह राजा हुनु त्यो त कामी हो’ भन्ने गरिन्छ ।
समाजमा कुनै दलितका छोराछोरी राम्रा भए भने ‘कस्तो क्षेत्री बाहुनका छोराछोरी जस्तो’ भन्ने अनि ठूला जातिका छोराछोरी नराम्रो भए भने ‘कस्तो कामी दमाई जस्तो’ भन्ने । यो भाष्य सदियौंदेखि हाम्रो समाजमा रहेको र त्यसैलाई हर्क साम्पाङ जस्तो व्यक्तिले पनि प्रयोग गरे। जुन घटना र कुरामा दलित समुदायको कुनै संलग्नता छैन त्यसमा दलितले गाली खानुपर्ने किन ? यो गम्भीर प्रश्न ती गजमेर भाइले उठाएका छन् ।
हिजो हाम्रा बाउ बाजेले जतिसुकै अपमान र पीडा भए पनि त्यसको विरुद्ध आवाज उठाउन सकेनन्, तर अहिले हामी एक्काइसौं शताब्दीमा छौं । अहिले दलितहरूले पनि लोकतन्त्र र मानवअधिकारको कुरा बुझेका छन् । यस्तोमा एउटा समस्त जातिलाई अपमान गर्दा चुप लागेर बस्ने कुरा आउँछ ? भनी प्रतिप्रश्न गरेका छन् ।
हर्कले के बुझेका छैनन् भने ‘भेटिङ’ भन्ने उजुरी यदि मानवअधिकारलाई मान्ने राष्ट्र तथा राजदूतावासमा गयो भने उनी ती देशको भिसाको लागि पनि अयोग्य हुनसक्छन् । यस्तो भेटिङबाट एउटी पूर्व प्रहरी अधिकृत पनि पीडित भइसकेकी छन् ।
प्रसिद्ध गायिका तथा एमालेकी राष्ट्रिय सभाकी सांसद कोमल वलीले एउटा टेलिभिजन कार्यक्रममा ‘मरेपछि डुमै राजा’ भन्ने अभिव्यक्ति दिएपछि उनको चौतर्फी विरोध भयो र दलितहरू कानुनी उपचारको तयारीमा थिए । त्यतिमै उनले सार्वजनिक रूपमा माफी मागेपछि त्यो घटना सेलाएर गयो, तर यहाँ साम्पाङ भने अझै अपमान गर्ने मूडमै देखिन्छन् ।
मेयरले दलित आयोगको उनी विरुद्धको कारबाहीको मागलाई ‘उस्स !’ भनी खिसी गरेका छन्, तर उनले के हेक्का राखेका छैनन् भने उनले जुन संविधानअन्तर्गत बनेको कानुनको आडमा मेयर पद पाएका छन् त्यही संविधानले व्यवस्था गरेको आयोगलाई खिसी उडाउँदा संविधानकै बर्खिलाप गएको देखिन सक्छ ।
छुवाछूतकै विषयको संवैधानिक कुरा गर्दा धारा २४ को छुवाछूत तथा भेदभाव विरुद्धको हकको उपधारा १ मा स्पष्टसँग भनिएको छ-‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै प्रकारको भेदभाव गरिने छैन ।’ त्यसैको उपधारा ५ ले ‘त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भनेको छ ।
कानुन बमोजिम भनेपछि छुवाछूत र कसुर सजाय ऐन २०६८ को धारा ४ को उपधारा १२ मा कसैले श्रव्यदृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोस्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उँच–नीच दर्शाउने, जातजातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठहर्याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार गर्ने अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।
एकजना जनजाति अभियन्ता बलदिप प्रभाकर चाम्लिङले भारतका दलित नेता काशीरामको भनाइलाई साभार गर्दै लेखेका छन्-‘सत्तामा नहुने जाति राज्यमा हेपिन्छन्, उनीहरूले न्याय पाउँदैनन् र उनीहरू सधैं गुलाम हुन्छन् ।’
उनको राजनैतिक मर्म थियो शासकले त गुलामलाई हेप्ने नै भयो तर गुलाम–गुलामबीच पनि एउटा गुलामले अर्को गुलामलाई हेप्छ । एउटा गुलामले अर्को गुलामलाई चमारे भनेछन् । यो त एक दयनीय र भद्दा मजाक हो ।
अहिले मेयर साम्पाङ आफ्नै कार्यपालिकाभित्र आलोचित छन् । त्यतिले नपुगेर उनी सिंगो दलित समुदायको आलोचनाको पात्र बनेका छन् । यसले उनलाई कहाँ पुर्याउँछ उनी आफैं जानून् !
प्रतिक्रिया 4