
काठमाडौं । पोखराको फेवाताल किनारमा ६ पुसदेखि सुरु हुने ‘१०औं नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ ।
फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५ औं स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ । योञ्जनका गीतहरुको सँगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ । स्व. योञ्जनले पोखरामै लामो समयसम्म लोकसंगीतको अनुसन्धान र लेखनमा बिताएका थिए ।
लिटरेचर फेस्टिबलमा यसबाहेक लोक–ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुती दिनेछन् । यीलगायत सबै सांगीतिक कार्यक्रमहरुको प्रायोजन ‘खुकुरी रम’ले गरेको हो ।
‘खुकुरी रम’ संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘दि नेपाल डिस्टीलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ । कम्पनीकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीतप्रेमीहरुको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूहरुलाई गौरव महसुस भएको बताइन् ।
उनले भनिन्, ‘लामो समयदेखि ग्राहकको मनमा बस्न सफल ‘खुकुरी रम’ उत्पादन गर्दा हामीले मौलिकतालाई विशेष जोड दिने गरेका छौं । यहीकारण नेपाली मौलिकपनले ओतप्रोत लिटरेचर फेस्टिभलजस्ता कार्यक्रम हाम्रो रोजाईमा पर्ने गर्छन ।’
लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरुको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमहरुसँग जोड्न पाउँदा आफूहरुलाई पनि खुशी लागेको बताए ।
यसपटकको फेस्टिभलको नारा ‘शब्दशक्ति उत्सवको एक दशक’ रहेको छ ।
पुस ११ गतेसम्म चल्ने शब्दहरुको उत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुनेछन् ।
प्रतिक्रिया 4