+
+

कोसीका कप्तानहरू

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते ८:४१

८ पुस, सुनसरी । कोस्टगार्डका रुपमा कतारमा साढे ४ वर्ष काम गरेका उदयपुर बेलका ५ का राजेशकुमार चौधरी (४८) ले जेटबोट चलाउन त्यहीँ सिके । कतारको जलसेनासँगको समन्वयमा कोस्टगार्डका रुपमा काम गरेका उनलाई सेनाले नै ड्युटी गर्ने क्रममा बोट चलाउन प्रोत्साहित गरेको थियो । सन् २०१३ मा नेपाल फर्किएका उनले सप्तकोसी नदीमा कप्तानका रुपमा बोट हाँकिरहेका छन् ।

चन्द्रबहादुर राई (४०) जेटबोटमा कप्तानका रुपमा २०६४ सालदेखि कार्यरत छन् । कोसी रिभर ट्रान्सपोर्टको बरुण नामक जेटबोट सञ्चालन हुँदा उनले काम सिके । उनका गुरु थिए, जनकपुरका वृच्छसिं दनुवार । सहचालकका रुपमा काम सुरु गरेका बराहक्षेत्र २ का राई जेटबोटको कप्तान छन् ।

बराहक्षेत्र १ चतराघाटका सुजन श्रेष्ठ (३४) सहचालकबाट पाइलट हुँदै बोट हाँकिरहेका छन् । यही सीपकै कारण वैदेशिक रोजगारीमा गएका उनी घर फर्केपछि कोसी नदीमै रोजगार छन् ।

बेलका ८ उदयपुरका सुवास राई वैदेशिक रोजगारीका क्रममा २ वर्ष मलेसिया बसे । विदेशमा रहँदा पानीबोट सम्बन्धी कुनै जानकारी थिएन उनलाई । मलेसियाबाट फर्किएपछि आफ्नै मामाले सप्तकोसी नदीमा पानीबोट सञ्चालन गर्ने भए । सुवास पनि सहयोगीका रुपमा काम गर्न थाले । अहिले उनी आफैं जेटबोट हाँक्छन् ।

बराहक्षेत्र १ मन्दिर एरियाका तिलक शिवाले पानी बोटमा काम गर्न थालेको ८ वर्ष भयो । सुरुमा सहपाइलट भएर काम गरे । बीचमा काम सिक्दै गए । साढे ४ वर्ष भयो, उनी पाइलट भएर काम गरिरहेका छन् । विगत दुई वर्षदेखि सहज रुपमा बोट सञ्चालन गरिरहेको अनुभव सुनाउँछन् उनी ।

कोसी नदीमा पानीबोटको कप्तानका रुपमा १० जना बढी युवाहरु कार्यरत छन् । राजेश, चन्द्रबहादुर, तिलक, सुवास र सुजनसँगै प्रवीण राई (३३), सञ्जीव श्रेष्ठ (३८), मनिष घिमिरे (२६), दिक्पाल राई (२५) र मनी राई (३०) सप्तकोसी नदीमा चल्ने जेटबोटका पाइलट हुन् ।

‘वैदेशिक रोजगारीका लागि कतारमा म साढे ४ वर्ष बसें, मैले बोट चलाउन त्यहीँ सिकेको हुँ,’ जेटबोटबाट मासिक ७० हजार तलब थाप्दै आएका बेलका नगरपालिका ८ का राजेशकुमार चौधरी भन्छन्, ‘अवसरले पाएको सीप खेर नजाने रैछ, अहिले आफ्नै ठाउँमा आएर पनि काम पाएँ, विदेशमा सिकेको सीप आफ्नै ठाउँमा सदुपयोग गर्न पाएको छु ।’

कोसी एडभेन्चर कम्पनीका सञ्चालक र्याफ्टिङ व्यवसायी इटहरीका सुरेश बस्नेतको सम्पर्कबाट चौधरीले बोट चलाउन थालेको थिए ।

छैन अनुमतिपत्र

१० बढी व्यावसायिक कम्पनीका पानीबोट सप्तकोसी नदीमा सञ्चालनमा छन् । कोशी एडभेन्चर प्रालि, दन्तकाली जलयातायात प्रालि, वराहक्षेत्र जलयातायात प्रालि, कोशी रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन, नेवार मरिन एण्ड एम्युजमेन्ट प्रालि, सप्तकोशी रिसोर्ट एण्ड वाटर फनलगायतका कम्पनीका व्यावसायिक बोट कोसीमा चल्छन् । तर व्यावसायिक कम्पनीका जेटबोट चलाउने पाइलटसँग अनुमतिपत्र भने छैन ।

‘लाइसेन्स नै चाहिं मसँग छैन तर, विदेशमा काम गरेको अनुभवको प्रमाणपत्र छ,’ चौधरी भन्छन्, ‘कोसीमा काम गर्न सहज छैन, जलमार्गहरु अप्ठ्यारा छन्, ठूलाठूला ढुंगा छन्, हाम्रो बोटमा जिपिएस सिस्टम छैन, त्यसले गर्दा पनि अप्ठ्यारो छ ।’

राज्यले लाइसेन्सको सुविधा दिनुपर्ने चौधरी बताउँछन् । ‘पर्यटकीय क्षेत्र बनाउने सरकारले प्रयास गरिरहेको छ, बोटको बाटो सखारेर मिलाउन सके कोसीको पानीमा राम्रो पर्यटनको विकास गर्न सकिने थियो, स्थानीयलाई पनि आवात्–जावत् गर्न सजिलो हुने थियो’, चौधरी भन्छन् ।

कोसी एडभेन्चर कम्पनीमा आबद्ध भएर क्याप्टेनका रुपमा काम गर्दै आएका चौधरी चतरादेखि बराहक्षेत्र, भोजपुर, माइबेनी, भोजपुर कोप्चे र धनकुटा सिम्लेसम्मको १३ किलोमिटरको यात्रा २० मिनेटमा पूरा गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘बराहक्षेत्र माइबेनी, त्रिवेणी, खुवालुङजस्ता पवित्र धामहरु हुँदै कोसीमा जेटबोटको यात्रा गर्न सकिन्छ, आन्तरिक पर्यटकहरुको आस्था भएकाले पनि यहाँ घुइँचो हुने गर्छ ।’

पानी जहाजको लाइसेन्सको बारेमा नेपाल सरकारलाई नै थाहा छैन होला भन्ने अनुमान गर्छन् जेटबोट चालकहरु । उनीहरुलाई पानी जहाज कार्यालय चाहिं स्थापना भएको थाहा छ ।

‘नेपाल सरकारले हामीजस्ता पानीमा काम गर्नेहरुका लागि केही गर्ला कि भन्ने आशा छ,’ पाइलट तिलक शिवा भन्छन्, ‘सरकारले पानीबोट सञ्चालनको सहज वातावरण निर्माण गरिदिनुपर्छ, कसरी कर उठाउने भन्ने बारेमा पनि विचार गर्नुपर्छ, सीपअनुसार लाइसेन्सको व्यवस्था गरिदिए हुनेथियो भन्ने लाग्छ ।’

बोट चलाउने सीप प्राप्त गरे पनि राज्यले यसको आधिकारिकता दिन नसकेको पाइलटहरुको गुनासो छ । ‘हामीलाई अहिले लाइसेन्सको खाँचो छ,’ बोट चालक सुवास राई भन्छन्, ‘तीन वर्ष भयो मैले काम गरेको, हेर्दै सिक्दै काम गरेको हुँ, चनाखो हुनुपर्छ, यत्तिकै सिक्छु भन्ने हुँदैन, यो समुद्र होइन, सप्तकोशी हो ।’

मनग्ये आम्दानी, आकर्षक तलब

बोट चल्न थालेपछि स्थानीय युवा रोजगार भएका छन् । सप्तकोशीमा बोट चल्न थालेपछि २५–३० जना युवाले रोजगार पाएका छन् । चालक, सहचालक र कर्मचारीका रुपमा काम पाएका उनीहरुले मासिक तलब समेत राम्रै प्राप्त गरिरहेका छन् ।

पानीबोटमा प्राविधिकका रुपमा काम गर्न खोज्ने युवाहरुको आकर्षण छ । ‘पानीको कुरा हो गाह्रो हुन्छ, यसको आफ्नै बाटो हुन्छ, गहिराइ हुन्छ,’ बोट चालक सुवास राई भन्छन्, ‘पर्फेक्ट पाइलट हुने हो भने पचास हजार भन्दा माथि मासिक तलब हुन्छ, क्याप्टेनहरुले ७०–८० हजारसम्म तलब थाप्नुहुन्छ ।’

सार्वजनिक सवारी साधनका चालक चन्द्रबहादुर राई साहुले पानीबोट ल्याउने भएपछि उनी पनि यतैतर्फ आकर्षित भए । स्थलमार्गका सवारी चालक उनी सामान्य मासिक तलबमा काम गर्दै थिए । आज उनी जल यातायातका चालक छन् । मासिक तलब पनि ६० हजार बढी प्राप्त गर्छन् । जोखिम छ, तर पनि राम्रो आर्थिक उपार्जन छ ।

एउटा जेटबोटले सरदर पाँच पटकसम्म चतरादेखि भोजपुरको यात्रा तय गर्छ । एकोहोरो यात्रा प्रतिव्यक्ति ६ सय ५० रुपैयाँ पर्छ । एउटा बोटमा कम्तिमा पनि २० जना यात्रु हुन्छन् ।

जेटबोट सञ्चालक विमलमान श्रेष्ठ कप्तानको मासिक तलब आकर्षक हुने बताउँछन् । उनका अनुसार एकजना कप्तानको भागमा तलब, भत्ता, खाजा खर्चसमेत जोडेर सरदर मासिक २ लाख रुपैयाँसम्म हुन आउँछ ।

‘जेटबोट पाइलटको तलब विमान उडाउने पाइलटको भन्दा आकर्षक छ’, बोट सञ्चालक श्रेष्ठ भन्छन् ।

हस्तान्तरण हुँदै सीप

कोसी नदीमा चल्ने जेटबोटबाट बर्सेनि प्राविधिकहरु उत्पादन हुँदै आइरहेका छन् । नियामक निकायको आँखा परेको छैन । तर पनि आफूले सिकेको जेटबोट सञ्चालन गर्ने सीप अन्यमा हस्तान्तरण हुँदै आएको छ ।

सरदर दुई दशकमा जेटबोट चालकहरुको पाँचौं पुस्ता निर्माण हुँदैछ । अमेरिकी प्राविधकहरुबाट सीप सिकेका वृच्छसिं दनुवार अहिले निवृत्त भएका छन् । उनले सिकाएका चन्द्रबहादुर राई कार्यरत नै छन् । चन्द्रबहादुरले सिकाएका सुजन श्रेष्ठले पनि आफ्ना चेला तयार पारिसकेका छन् । सुजनले जेटबोट चलाउन सिकाएका प्रवीण राई ‘कियान १’ का कप्तान हुन् । काम गर्दै जाँदा चन्द्रबहादुरले आफ्नो सीप पनि बाँड्दै गएका छन् । उनीपछि आउने प्राय पाइलटहरु उनकै चेला हुन् ।

कप्तान राजेशकुमार चौधरीले पनि बोट चलाउन थालेपछि अन्यलाई सीप बाँड्दै आएको बताउँछन् । ‘२–४ जना साथीहरुले मबाटै बोट चलाउन सिक्नु भएको छ, विस्तारै उहाँहरुले अनुभव लिँदै हुनुहुन्छ ।’

अप्ठ्यारो जलमार्ग, सहज पहुँच

चन्द्रबहादुर राईको दैनिकी डेढ दशक अघिदेखि कोसी नदीमै बितिरहेको छ । उनले कोसीका कैयौं कहर देखेका छन् । पानीका छालहरुमा दिनहुँ लुकामारी खेल्नु उनको पेशा हो । २०६४ सालमै सञ्चालित सुम्निमा जलयातायातको पानीबोट कोसीको गर्भमा विलय भयो । एक जनाले ज्यान गुमाए । आजसम्म न पानीबोटको अवशेष फेला पर्‍यो, न चालक । चन्द्रबहादुर त्यो दुःखद दुर्घटनाका ज्युँदा साक्षी पनि हुन् ।

पानीबोट सञ्चालन गर्न प्राविधिक रुपमा पनि कठिनाइ छ । यसको मार्गहरुमा अवरोधहरु छन् । पोर्टहरुको सहज निर्माण हुन सकेको छैन । भोजपुरसम्म पुग्न पनि सजिलो छैन ।

व्यावसायिक रूपमा जेटबोट सञ्चालन भएपछि भोजपुरका हतुवागढी, आमचोक, धनकुटाको शहीदभूमि गाउँपालिकासहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराहक्षेत्रसँग जोडिदिएको छ ।

यसले वराहक्षेत्रमात्र नभएर पूर्वका मुख्य शहरसँगको दूरी निकै कम बनाएको छ । सवारी साधनबाट घण्टौ समय लगाएर शहर पस्नु पर्ने नागरिकले २० मिनेटको समयमा ठूलाठूला पहाड र अक्करे भिरहरु छिचोल्न सक्छन् ।

‘तर जेटबोटको सम्भावना र यात्रुहरुको सुविधा यतिमा मात्र टुंगिदैन, यसको व्यापक सम्भावनालाई राज्यले पनि मध्यनजर गर्नुपर्छ ?’ कोशी रिभर ट्रान्सपोटका सञ्चालक अनिस थापा भन्छन्, ‘अहिले कोशी नदीमा निर्माण भएको पुलदेखि धनकुटाको सिम्ले र भोजपुरको भसुवा, चुहारसम्म जेटबोट पुग्छ, तर त्यहाँभन्दा माथि जान सक्दैन, नदीमा रहेका विशाल चट्टानका कारण हामीले यात्रुहरुलाई त्यहाँसम्म लान सकेका छैनौँ ।’

दशकअघि नै कोसी रिभर ट्रान्सपोर्टको जेटबोट दोलालघाटसम्म पुगेको थियो । जेटबोटका पुराना कप्तान वृच्छासिं दनुवारले नै उक्त बोटलाई दोलालघाटसम्म पुर्‍याएका थिए ।

नेपालका नदीहरुमा लामो समयदेखि जेटबोट पाइलटका रुपमा काम गरेका वृच्छासिं अनुभवी पाइलट हुन् । पर्यटक गाइडका रुपमा काम गरिरहेका उनले दुई दशकअघि नै अमेरिकी नागरिकको संगतमा नेपालका विभिन्न नदीमा मोटरबोट र जेटबोट चलाउन सिके । उनको यही अनुभवका आधारमा उनलाई कोसी नदीका जानकार मानिन्छ । ‘सरकारले चाह्यो भने दोलालघाटसम्म बोटबाट यात्रुलाई आवतजावत गराउन सकिन्छ,’ वृच्छासिं भन्छन्, ‘नदीका अब्स्ट्याकल्सहरु’ सरकारले पन्छाइदिनुपर्छ ।’

कप्तानबाट निवृत्त वृच्छासिं अरुणतिरबाट जाँदा सिम्ले र अखुवाटारको बीचमा पर्ने  छहरालाई ‘कटिङ’ गरेर ‘साइट लाइन’ सारेमा तुम्लिङटारसम्म पुग्न सकिने बताउँछन् ।

हाल भचुवासम्म पुगिरहेको जेटबोट दूधकोशी (सुनकोशी) को बाधा पन्छाउने हो भने बेलका ७ र हतुवागढी ९ को लाम्पातेसम्म पुग्न सकिन्छ । बीचमा रहेका केही ठूला चट्टानलाई हटाउने हो भने अरुणबाट तुम्लिङटार र सुनकोशीबाट दोलालघाटसम्म पुग्न सकिन्छ । वृच्छासिं भन्छन्, ‘अहिले अरुणमा दुईवटा ढुंगा ब्लाष्ट गर्नुपर्छ र सुनकोशीमा एउटा ढुंगा ब्लाष्ट गर्नुपर्छ ।’

यदि राज्यले यी बाधालाई पन्छाउने हो भने चतराबाट हिँडेर तीन दिनसम्म लाग्ने भोजपुर, खोटाङलगायतका पहाडी क्षेत्र जेटबोटबाट एकै घण्टामा पुग्न सकिन्छ । भोजपुरको पावला, दुङमाना, पाङ्चा, यूँ, वासिङ, पूर्णे, बयाङ, आमचोकसम्मका स्थानीय प्रत्यक्ष लाभान्वित हुने जेटबोट संचालक थापा बताउँछन् । यस्तै खोटाङ जिल्लाका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय एकै घण्टामा चतरा आइपुग्न सक्छन् ।

चतराबाट चिसापानी हिँडेर जाने हो भने तीन दिनसम्म लाग्न सक्ने संचालक थापाको भनाइ छ । यी क्षेत्रहरुबाट चतरासम्म आइपुग्न र्‍याफ्टिङमा झण्डै ८ घण्टा, हिँडेर ३ दिनसम्म र जेटबोटमा एकै घण्टामा आइपुग्न सकिन्छ ।

कोसीको ढुंगा (खुवालुङः किरातहरुको धार्मिक आस्थाको प्रतीक) फुटाउन लागेको भन्दै १ नम्बर प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राई आलोचित भएका थिए । एउटा कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीले कोसीको ढुंगा फुटाउने भनेपछि खुवालुङ विवाद सतहमा आएको थियो । पछि प्रदेश १ सरकारले खुवालुङको संरक्षण गरेर लाने निर्णय समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?