
८ पुस, काठमाडौं । यसपटकको आम चुनावमा दलहरुले समानुपातिक सांसदहरुलाई समानुपातिकमै नदोहोर्याउने नीति लिएका थिए ।
यो नीतिका कारण समानुपातिक सांसदहरु नदोहोरिए पनि चुनावअघि दल बदल्ने दुई जना भने फेरि पनि समानुपातिकबाट सांसद बनेका छन् ।
उनीहरु हुन् अमृतादेवी अग्रहरी र चन्दा चौधरी ।
अग्रहरी जनता समाजवादी पार्टी (जसपा) निवर्तमान सांसद हुन् । ०७४ मा समानुपातिक तर्फबाट निर्वाचित अग्रहरीले ४ मंसिरमा सम्पन्न आम चुनावमा प्रत्यक्षतर्फ टिकट मागेकी थिइन् । नेतृत्वले टिकट नदिएपछि उनले जसपा नै त्यागिन् ।
अग्रहरीलाई पार्टी प्रवेश गराएर एमालेले समानुपातिक उम्मेदवार बनाएको थियो । एमालेले समानुपातिकतर्फ ३४ सिट पाउँदा अग्रहरी मधेशी महिलातर्फ निर्वाचित भइन् ।
एमालेले आफ्ना सांसदको हकमा समानुपातिक सांसदहरुलाई नदोहोर्याउने नीति लिएको थियो । तर, अर्को पार्टीबाट आउनेको हकमा खुला राखेका कारण दल बदलेर समानुपातिकबाटै अग्रहरी पुनः सांसद बनेकी हुन् ।
अग्रहरी जस्तै अर्की चन्दा चौधरी ०७४ मा पनि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन् । लोसपाको सांसद भएर पाँच वर्षमा संसदमा खेलेको भूमिका हेरेर आफूलाई उम्मेदवार बनाउनुपर्ने नेतृत्वसँग उनको आग्रह थियो । प्रत्यक्ष वा समानुपातिक जहाँ भए पनि आफूलाई उम्मेदवार बनाउनुपर्ने उनको माग पार्टीमा सुनुवाइ भएन । त्यसैले उनले लोसपा नै त्यागिदिइन् ।
लोसपा त्यागेकी चौधरीलाई कांग्रेसले समानुपातिक सूचीमा राख्यो । समानुपातिकतर्फ ३२ सिट पाउँदा कांग्रेसले चौधरीलाई चयन गर्यो । उनी मधेशी महिला क्लस्टरबाट निर्वाचित भएकी हुन् ।
कांग्रेसले पनि आफ्नो पार्टीको सन्र्दभमा समानुपातिक सांसदहरुलाई नदोहोर्याउने नीति लिएको थियो । तर, पार्टीमा नयाँ आउनेहरुका लागि समानुपातिकतर्फ रहेको भए पनि दोहोर्याउने नीति खुला राखेको थियो । यसकारण लोसपा त्यागेकी चौधरी समानुपातिकबाटै फेरि सांसद भएकी हुन् ।
कांग्रेसबाट निवर्तमान सांसद रहेकी पार्बता डी.सी. चौधरीले पनि पार्टीले उम्मेदवार नबनाउने भएपछि पार्टी छाडेकी थिइन् । कांग्रेस त्यागेर नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट समानुपातिक उम्मेदवार बनेकी चौधरी अमृता र चन्दा जस्तै भाग्यमानी भइनन् ।
कारण– नाउपाले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनै सकेन । यसकारण समानुपातिकतर्फ रहेका नाउपाका कुनै पनि उम्मेदवार सांसद हुन सकेनन् ।
जसपाकी निवर्तमान सांसद रुही नाज पनि पार्टी छाडेर एमालेबाट समानुपातिक उम्मेदवार बनेकी थिइन् । तर, उनलाई पार्टीले समानुपातिकतर्फ निर्वाचित गरेन ।
जसपाकी निवर्तमान सांसद रेनुका गुरुङ राप्रपाबाट समानुपातिक उम्मेदवार थिइन् । समानुपातिकतर्फ ७ सिट जितेको राप्रपाले पनि गुरुङलाई छनोट गरेन ।
प्रतिक्रिया 4