+
+

फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा समस्या छ : कामु प्रधान्यायाधीश कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते २०:०७

८ पुस, काठमाडौं । कायममुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन,न्याय निरुपण गर्ने निकायबीचको समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताए ।

शुक्रबार काठमाडौंमा भएको सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलनमा का.मु. प्रधानन्यायाधीश कार्कीले अनुसन्धान अभियोजन,न्याय निरुपण गर्ने निकायहरुको क्षमता प्रभावकारिता तथा त्यस्ता निकायहरुबीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताएका हुन् ।

उनले फैजदारी न्याय प्रणालीलाई विश्वनीय बनाउन यससँग आवद्ध संस्था वा निकायहरुको सक्षता, निष्पक्षता, व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताए ।

उनले नेपालको फैजदारी कानूनी राज्य बनाउन फैजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकीलहरुको कुशल क्षमता, व्यवसायिकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फैजदारी न्यायप्रणालीले गतिशिलता प्राप्त गर्नसक्ने बताए ।

उनले संवैधानिक कानूनी एवम संरचनागत व्यवस्थामा पछिल्लो समय समसामयिक परिवर्तनहरु हुँदै आएको बताए । का.मु.प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायका आयामहरुमा क्रमसः बिस्तार हुँदै गएको भन्दै धेरै नविनतम विधिशास्त्रिय मान्यताहरु विकसित हुँदै गएको बताए ।

उनले फैजदारी न्यायका परम्परागत मान्यता, अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना नभएको बताए । उनले अनुसन्धान र अभियोजनका
क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित स्वीकृत र अवलम्वित मानक तथा मापदण्डका विषयमा ध्यान दिन जरुरी रहेको बताए ।

उनले पीडितमैत्री एवम क्षतिपूर्ति सहितको न्याय लगायतका अवधारणाहरु फौजदारी न्याय प्रणालीका अन्तरनिहीत पक्षमा स्थापित हुँदै गएको बताए । उनले यसले अनुसन्धान तथा अभियोजन गर्ने निकायहरुमा पनि सोही अनुरुपको दृष्टिकोण र क्षमता राख्नुपर्ने बताए ।

उनले भने, ‘फौजदारी न्याय प्रणालीलाई विश्वसनीय बनाउन यसमा आवद्ध संस्था वा निकायहरुको सक्षमता,निष्पक्षता,व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहन्छ । नेपालको फैजदारी कानूनको महत्वपूर्ण भूमिकामा रहेको महान्यायाधीवक्ताको कार्यालय फौजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकिलहरुको कुशल क्षमता व्यवसायीकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फैजदारी न्यायप्रणालीले गतिशिलता प्राप्त गर्नसक्छ । ’

का.मु. प्रधानन्यायधीश कार्कीले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयको लागि अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक रहेको बताए । उनले अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्तम्भहरु भएको भन्दै यसको सुदृढीकरण बिना फौजदारी न्याय सबल र प्रभावकारी बन्न नसक्ने बताए ।

उनले फैजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतीहरु रहेको बताए । कार्कीले अपराध अनुसन्धानमा फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु हुन थालेको भन्दै त्यस प्रकारका आशंका र टिप्पणीहरुलाई इन्कार गर्न नहुने बताए ।

उनले भने, ‘फौजदारी न्यायको प्रभावकारीताको लागि मुलतः अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक छ । अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्थम्भहरु हुन् । यसको सु्दृढीकरण बिना फौजदारी न्याय सवल र प्रभावकारी बन्न सक्दैन । फैजदारी मुद्दाको आधार पनि त्यसैमा निर्भर रहने हो । हाम्रो सन्दर्भमा फौजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतीहरु रहेका छन् ।’

उनले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान जान जरुरी रहेको बताए । उनले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान दिँदा मात्रै फैजदारी कानूनको जग बलियो हुने दाबी गरे ।

उनले भने, ‘ खासगरी अपराधको अनुसन्धान वैज्ञानिक एवम् प्रविधिमा आधारित हुन नसकेको वस्तुनिष्ठ अभियोजन हुन नसकेको वस्तुगत अभियोजन र अनुसन्धानमा दोषी उम्कने र निर्दोष व्यक्ति फस्ने गरेको कसुर लागेको व्यक्ति थुन्न अनि सुन भन्ने सोचबाट अझै पनि पूर्ण रुपमा मुक्त हुन नसकेको लगायतका फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु व्यक्त हुने गरेको पाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?