
पापी पेटकै लागि
घरी वल्लो छेउ, घरी पल्लो छेउ
गरिखान देउ, गरिखान देउ ।
आज हुर्कदो पुस्ताले पाइला–पाइलामा अनेकन अड्चन झेल्नुपरिरहेको छ । कहिले कोरोना महाव्याधि, कहिले महाभूकम्प । कहिले नाकाबन्दी त कहिले वन्द–हड्ताल । राजनीतिक अस्थिरता, महंगी, भ्रष्टचार अनि वेथिती । ‘केही गरौं’ भन्ने ठूलो जमात थाक्दै गएका छन् । जोश, जाँगर र उत्साहले भरिएका पाखुरीहरु गल्दैछन् ।
यस्तो स्थितीमा आम आवाज बनेको छ, गरिखान देउ ।
आजको कुटिल परिवेशले जसरी जीवन नै उथलपुथल बनाउँदैछ, यो जोशिला पुस्ता पलायनको मनोदशामा पुगेका छन् । यही पुस्ताको मनोभावलाई प्रमोद खरेलले गीतमार्फत व्यक्त गरेका छन् ।
त्यसो त पाश्र्व गायनमा प्रमोदका लागि खास मानिन्छन्, प्रमोद । यद्यपि माया पिरतीका भाकादेखि देशभक्तिका गाथासम्ममा उनी गजबले व्यक्त भएका छन् । उनको पछिल्लो गीत चाहिँ वर्तमान परिवेशमा सर्वसाधरणको जीवन–भोगाईसँग नजिक छ ।
‘जति सहनु थियो देशले सहिसक्यो
जति बग्नु थियो रगत वगिसक्यो
जति धोनु थियो आँखा धोइसक्यौं
जति रुनु थियो हामी रोइसक्यौं
पापी पेटकै लागि घरी वल्लो छेउ, घरी पल्लो छेउ
गरिखान देउ, गरिखान देउ
अब त हामीलाई गरिखान देउ’
प्रमोद खरेलको आफ्नै अफिसियल युट्युबमा सार्वजनिक गीतको भिडियोले निकै जोशिलो शैलीमा आम दुःख, पीडा अनि उन्मुक्तिको गाथा पस्किएको छ ।
आठ मिनेट लामो गीतको भिडियोले एउटा यस्तो कालखण्डको सजिव चित्र उतारेको छ, जहाँ राजनीतिक उतारचढावले एउटा नागरिकको जीवन कसरी तहसनहस भइरहेको छ भन्ने छर्लङ्ग पार्छ ।
यो चोटिलो गीत मन क्षेत्रीले लेखेका हुन् । संगीत संयोजन मोहित मुनालले गरेका छन् ।
प्रतिक्रिया 4