+
+

डोटीबाट समानुपातिक सांसदमा साउदमात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १८:५६

९ पुस, डोटी । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम आउँदासम्म पनि कुमारसिंह टेलर आफू सांसद हुनेमा ढुक्कै थिए ।

नेपाली कांग्रेसको तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका उनलाई जव सामाजिक सञ्जालमा अंकगणित आउन थाल्यो, तब डर लाग्न थाल्यो । उनी अन्तिम प्रयासमा लागे । काठमाडौं पुगे, नेताहरुसंग छलफल गरे । तर केही सीप चलेन । ०६४ सालदेखि लगातार समानुपातिक उम्मेदवार बन्दै आएका टेलरलाई यसपालि पनि सांसद पद जुरेन ।

समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा डोटीबाट ६ जनाको नाम समावेश थियो । उनीहरुमध्ये एकजनाले मात्र सांसद हने अवसर पाए । नेकपा एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेश सभाको समानुपातिक सूचीमा डोटी पूर्वीचौकी गाउँपालिकाकी निर्मला साउदको नाम अटायो । ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित साउद यस पटक पनि सोही पदमा दोहोरिन चाहन्थिन् । उनले अन्तिमसम्म उपाध्यक्षकै टिकटका लागि दौडधुप गरिन्, तर पाइनन् ।

प्रदेशसभा निर्वाचनमा उनले समानुपातिक सांसद दाबी गरिन्, उनको नाम बन्द सूचीमा पर्‍यो पनि । अन्ततः उनी सांसद बन्न सफल भएकी छन् । एमालेले सदूरपश्चिम प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीमा जम्मा तीन सिट जितेको थियो । समानुपातिकमा ८ जना पाएको एमालेले चार महिला पठाएको छ ।

प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार बनेकी कांग्रेस नेतृ प्रशिस महरा पनि अन्तिमसम्म सांसद हुने आशमै थिइन् । तर सकिनन् । कांग्रेस निकट नेपाल महिला संघको केन्द्रीय सदस्य महरा ०७४ सालको स्थानीय तह निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन् ।

यस्तै, एमालेले सुदूरपश्चिम प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा दिपायल सिलगढी नगरपालिकाकी शशी सोबको नाम राखेको थियो । एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य सोव ०७४ मा जिल्ला समन्वय समिति डोटीका निवर्तमान उपप्रमुख हुन । उनलाई पनि सांसद पद जुरेन ।

माओवादी केन्द्रबाट दुई जनाको नाम प्रदेश समानुपातिक उम्मेदवारको सूचीमा थियो । पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य गिता नेपाली र ०५४ सालको स्थानीय निकाय निर्वाचनमा निर्वाचित नगर प्रमुख पुर्णराज जोशीको नाम सूचीमा समावेश भएको भएपनि अन्तिममा दुवै आउट भए ।

नेकपा एकीकृत समाजवादीले सोही वडाबाट सीता रायमाझीलाई समानुपातिक कोटामा उम्मेदवार वनाएको थियो । रायमाझी एकिकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । उनी पनि सांसद हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?