१० पुस, काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२0 लिगमा आइतबार विराटनगर सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ .
नेपाल टी-२० लिगमा लगातार दोस्रो जितपछि लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा फार वेष्ट युनाइटेडलाई पराजित गरेको थियो ।
श्रीलंकन खेलाडी लहिरु मिलान्थाको लगातार दोस्रो अर्धशतक मद्दतमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै १५७ रन बनाएको थियो ।
जवाफमा विराटनगर सुपर किंग्सले ६ विकेट गुमाएर १५५ रन बनायो । विराटनगरका लागि हुसेन तलतले २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । रोहित पौडेलले २५, पृथु बास्कोटाले १८ र सिकन्दर राजाले १७ रन जोडे । कप्तान आन्द्रे म्याककार्थी ११ र विवेक यादव १२ रनमा अविजित रहे । जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा म्याककार्थी र विवेक मिलेर १३ रन मात्र जोड्न सकेन ।
बलिङमा लुम्बिनी अल स्टार्सका किशोर महतोले २ तथा प्याट ब्रोन, गुल्शन झा, कप्तान दीपेन्द्र सिंह ऐरी र सागर ढकाले समान १ विकेट लिए ।
त्यसअघि लहिरु मिलान्थाले अविजत ८० रन बनाएपछि लुम्बिनी अल स्टार्सले १५६ रन जोडेको थियो । ६३ बल खेलेका मिलानथाले ५ चौका र ४ छक्का प्रहार गरे । लिगमा उनको यो लगातार दोस्रो अर्धशतक हो ।
यस्तै कुशल भुर्तेलले १७ बलमा २ चौका र १ छक्का प्रहार गरी २६ रन बनाए । मिलान्था र कुशलले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे ।
कप्तान दीपेन्द्र सिंह ऐरीले १६ र विपुल शर्माले ११ रन जोडे । अनल शाह ६ र गुलशद्द झा ४ रनमा आउट भए भने भारतको यू-१९ टिमका पूर्व कप्तान उन्मुक्त चन्द लगातार दोस्रो खेलमा २ रनमा आउट भए ।
बलिङमा विराटनगरका नन्दन यादव, हुसेन तलत, शाहब आलम, सिकन्दर राजा र आन्द्रे म्याककार्थीले १-१ विकेट लिए ।
प्रतिक्रिया 4