
काठमाडौं । दश दिन लामो नेपाल घुमघामपछि बलिउड अभिनेता विवेक ओबराय भारत फर्किएका छन् । स्वदेश फर्कनुअघि उनले त्रिभुवन विमानस्थलमा संक्षिप्त पत्रकार सम्मेलन गरे ।
सपरिवार नेपाल घुम्न आएका उनले काठमाडौं, पोखरा, घारेपानी, भैरहवा र लुम्बिनी भ्रमण गरे । ‘मेरो सबै परिवारलाई नेपालसँग प्रेम भएको छ,’ पत्रकार सम्मेलनमा विवेकले भने, ‘एउटै समयमा म विदेशमा पनि छु र आफ््नो देशमा पनि छु भन्ने प्यारो फिलिङ्स भयो ।’
नेपालको प्राकृतिक सौन्दर्य र संस्कृतिको प्रशंसा गर्दै उनले मुख्यतः तीन चीजले आफू नेपालप्रति आकर्षित भएको बताए । कलाकारको रुपमा आफूलाई नेपालीको व्यवहार मन परेको, बिहान उठ्नेबित्तिकै देखिने हिमाल सुन्दर लाग्ने र प्राचीन मन्दिरलाई सफा ढंगबाट जोगाएर राखिएको कुराले आकर्षित गरेको उनले बताए ।
‘म फेरि पनि परिवारलाई लिएर नेपाल घुम्न आउँछु,’ उनले भने ।
नेपालमा व्यवसायको सम्भावना औंल्याउँदै अभिनेता ओबरायले प्रशासनको मद्दत मिलेको खण्डमा स्टार्टअप, फेसन र युवासम्बन्धी बिजनेस गर्न आफू इच्छुक रहेको उनले बताए । ‘नेपालमा स्टार्टअपको राम्रो सम्भावना छ । म फेसन र युथको कुरालाई लिएर काम गर्न चाहन्छु,’ उनले भने ।
‘नेपालमा बिजनेस पनि गर्नु जरुरी छ । सम्भावना पनि छ,’ उनले भने ।
विवेकले काठमाडौंमा पशुपतिनाथ दर्शन गर्दै चन्द्रागिरि समेत घुमघाम गरे । पोखरामा साहसिक खेलमा भाग लिएर पर्यटकीय नगरी घुमघाम गरे । त्यसपछि उनी पदयात्राका लागि पुनहिल पुगे । भैरहवा पुगेर उनले लुम्बिनी दर्शन समेत गरे ।
प्रतिक्रिया 4