१० पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२२/२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि सुरु हुने भएको छ ।
प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता धरान गल्फ क्लबमा हुनेछ ।
प्रतियोगितामा सूर्य नेपाल काठमाडौं ओपनका विजेता भुवन नगरकोटीसहित व्यवसायिक खेलाडीहरु शुक्र बहादर राई, जयराम श्रेष्ठ, मनी राई, सन्जय लामा, धन थापा लगायत खेलाडीहरु सहभागी हुनेछन् ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिता ५४ होलमा खेलाइनेछ । प्रतियोगितामा ३५ जना व्यवसायिक खेलाडी सहभागी छन् । जसमध्ये ६ जना स्थानीय हुनेछन् । एमेच्योरतर्फ १५ जना खेलाडीको सहभागिता रहनेछ ।
दुई दिनको खेलपछि कट लागु हुनेछ । शीर्ष २१ व्यवसायिक र ६ अमेच्योर खेलाडीले बाँकी १८ होलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको कूल पुरस्कार राशी ८ लाख रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपाधि विजेताले १ लाख ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ९० हजार र तेस्रो हुनेले ६७ हजार पाउनेछन् । शीर्ष २१ भित्र पर्ने खेलाडीले पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4