१३ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का १० जना सदस्यले बैठक बहिस्कार गरेका छन् । मंगलबार प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले बोलाएको १४औँ बैठक बहुमत सदस्यले बहिस्कार गरेपछि बस्न नसकेको हो ।
प्रदेश स्वास्थ्य तालिम केन्द्रको हलमा सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको अध्यक्षतामा बैठक बोलाइएको भए पनि बहुमत सदस्यले बहिस्कार गरेपछि बस्न सकेन। परिषद्का ११ जना सदस्य मध्ये चित्रराज भट्ट, बहादुरसिंह वड, दुर्गा भण्डारी, सन्तोश बिक, झलक शाह, सञ्जिता चौधरी, प्रकाश बिक, अनिल श्रेष्ठ, चेतना बोहरा, जिवन भट्टले बैठक बहिस्कार गरेका हुन् ।
परिषद्मा हरेक निर्णय कार्यान्वयन गर्दा समन्वय नगरेर आफूखुसी गर्ने, आर्थिक पारदर्शीता कायम नगरेको, परिषद्का विभिन्न कार्यक्रमबारे जानकारी नदिने लगायतका कारणले बैठक बहिस्कार गरिएको परिषद्का सदस्य चित्रराज भट्टले बताए ।
अर्का सदस्य बहादुरसिंह वडले सदस्य सचिव सिंहले परिषद्का कार्यक्रमको समिक्षा नगरेको, नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितामा खेलाडीलाई बन्द प्रशिक्षण सुविधा आफूखुसी दिएको, बैठक बोलाउने तर लिखित निर्णय नगर्ने प्रवृत्तिका कारण बैठक बहिस्कार गर्नुपर्ने परस्थिति सिर्जना भएको बताए ।
यता प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सिंहले बैठकमा सहभागी भए पनि उनीहरुले लिखित प्रक्रियामा भाग नलिएको बताए । विगतमा १३ वटा बैठक बसिसकेको बताउदै सिंहले उनीहरुले लगाएका आरोपमा कुनै सत्यता नभएको दाबी गरे ।
सिंहले राजनीतिक कारणले बैठक बहिस्कार गरेपनि परिषद्का सदस्यले बाहिर झुठा कुरा प्रचार गरेको समेत बताएका छन् । सामाजिक विकास मन्त्री अध्यक्ष रहने प्रदेश खेलकुद परिषद्मा मन्त्रालयका सचिव, नीति तथा योजना आयोगका अध्यक्ष, प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका प्रमुख सदस्य रहने व्यवस्था छ ।
परिषद्का सदस्यले बैठक बहिस्कार गरेको विषयमा अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरासँग प्रतिक्रिया माग्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
प्रतिक्रिया 4