
काठमाडौं । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी रिलिज भएको छ । लभस्टोरी, एक्सन र ड्रामा जनरामा राखिएको फिल्मलाई प्रवीण झाले निर्देशन गरेका हुन् ।
२ घण्टा १५ मिनेट रनटाइम रहेको फिल्मले सुखी र व्यवस्थित जीवन बाँचिरहेकी नर्सको जीवनमा उसको विगतले पछ्याउँदै आउँदा उत्पन्न हुने उतारचढावको कथा प्रस्तुत गर्छ ।
फिल्ममा उपासनाले नर्सको भूमिकामा अभिनय गरेकी छन् भने आर्यन प्रेमीको भूमिकामा छन् । प्रेमकथा मात्र नभएर एक्सन दृश्यको कथावस्तु पनि भएकाले सिंगल स्क्रिनका दर्शकले पनि यसलाई रुचाउन सक्ने अनुमान छ ।
फिल्ममा शिवहरि पौड्याल, सलोन बस्नेत र शिशिर राणाको समेत प्रमुख भूमिका छ । दक्षिण भारतीय फिल्ममा काम गरेका निर्देशक झाले डिसेम्बर फल्सको निर्माण शैलीमा त्यस्तै स्वाद पस्किन खोजेको देखिन्छ ।
‘डिसेम्बर फल्स’को शुक्रबार बिहानको अकुपेन्सी देशव्यापी १० प्रतिशत आसपास छ । हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को दबदबा कायम रहँदा नेपाली फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएको हो ।
मल्टिप्लेक्सले डिसेम्बर फल्सलाई सुखद् शो दिएका छन् । वर्ड अफ माउथ बलियो भएमा फिल्मले अंग्रेजी नयाँवर्ष र पहिलो सप्ताहन्त राम्रो कमाइ गर्न सक्छ ।
प्रतिक्रिया 4