
१६ पुस, धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयन गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । दलको नेता चयनका लागि शनिबार दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालयमा बैठक बसेपनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको हो ।
संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओमबिक्रम भाटबीच सहमति नजुटेपछि कुनै निर्णय हुन नसकेको एक सांसदले बताए ।
प्रदेश इन्चार्ज भट्टले दलको नेता चयनका लागि आइतबार बिहान ९ बजे फेरि बैठक बस्ने गरी स्थगित भएको जानकारी दिए । भट्टले सहमतिकै आधारमा दलको नेता चयन गरिने दाबी गरेका छन् । करीब ३ घण्टासम्म चलेको बैठकमा दलको नेतामा आकांक्षी भट्ट र भाटले दाबी नछाडेपछि बैठकले निर्णय लिन नसकेको हो ।
सांसदहरुले आपसमा सहमति गर्न दुवै जनालाई वान टु वान वार्ता गर्न पनि समय दिएका थिए तर अन्तिम समय सम्म पनि उनीहरुबीच सहमति नजुटेको हो । शनिबार बसेको माओवादीको प्रदेश पदाधिकारीको बैठकले पार्टीको वरियताक्रमअनुसार खगराज भट्टलाई दलको नेता चयन गर्न उपयुक्त हुने निर्णयसहितको सुझाव दिएको थियो ।
तर संसदीय दलमा उनलाई चुनौती दिइरहेका भाटले भने आफ्नो पनि उचित व्यवस्थापन हुनुपर्ने अडान लिएका कारण कुरा नमिलेको एक सांसदले जनाए । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ ।
प्रतिक्रिया 4