
१६ पुस, काठमाडौं । जनकपुरका अनलाइनखबरकर्मी शैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिने धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्मालाई कारबाही गर्न नेपाल पत्रकार महासंघ धनुषा शाखाले माग गरेको छ ।
शनिबार धनुषा शाखा सचिव बटुकनाथ झाले एक प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख दासलाई अबिलम्ब कानुन बमोजिम कारबाही गर्न माग गरेको हो ।
नगरप्रमुख दासले समाचारको विषयमा पत्रकारलाई दुश्मन ठानी बदलाको भावना लिएर गालीगलौज र अपशब्द पहिला पनि प्रयोग गरको भन्दै महासंघले विज्ञप्तिमा भनेको छ, ‘पत्रकारले लेखेको समाचारले समाजलाई सही दिशा तर्फ सकारात्मक परिवर्तनको रुपमा नलिई जाइलाग्नु समाज, राष्ट्र र स्वयं आफ्नै लागि पनि दुर्भाग्यपूर्ण छ ।’
महासंघले नगरप्रमुख दासलाई कारवाही प्रक्रिया अघि नबढाए चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
शुक्रबार नवनिर्वाचित मधेश प्रदेशका सांसदको शपथ समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई विगतमा लेखेको समाचारको निहुँमा मेयर दासले छातीको करङ भाँच्ने धम्की दिएका थिए ।
पत्रकार महासंघ धनुषा शाखाको शनिबार बसेको कार्यसमितिको बैठकले पत्रकार महतोमाथि ज्यान मार्ने धम्की दिने घटनाप्रति खेद प्रस्ताव पारित गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया 4