
१७ पुस, काठमाडौं । हाम्रो देश धेरैवटा नयाँ वर्षहरुको देश हो । किरातको नयाँ वर्ष । नेवार समुदायको नयाँ वर्ष । मधेशका विभिन्न जाति समुदायको नयाँ वर्ष । शेर्पा, गुरुङ, मगर, थारु तामाङ आदि जातजातिको नयाँ वर्ष । सरकारी मान्यता पाएको विक्रम संवतको नयाँ वर्ष त छदैछ । नयाँ वर्षै नयाँ वर्ष ।
यिनै नयाँ वर्षहरुको बीचमा आइपुग्छ, ‘अंग्रेजी नयाँ वर्ष ।’ शब्दै मिठो छ । किनभने खासमा यो अंग्रेजी नयाँ वर्ष त होइन । जापानी नयाँ वर्ष, जर्मन नयाँ वर्ष, चिनियाँ नयाँ वर्ष भनेझैं यो बेलायती या अमेरिकन नयाँ वर्ष त होइन ।
बरु, ग्रेगोरियन पात्रोले ल्याउने नयाँ वर्षलाई कसले ‘अंग्रेजी नयाँ वर्ष’ भन्न थाल्यो थाहा छैन । तर नेपालले यसलाई नयाँ वर्षकै मान्यता दिइसक्यो ।
उसो त धेरै नेपालीका लागि विक्रम संवत्को पात्रोले ल्याउने वैशाखे नयाँ वर्षको मतलब छ । मध्य पुसमा काठमाडौं र ठूला सहरहरुको माहोल हेर्दा भने जनवरीको स्वागत धेरै भव्य र स्मरणीय हुने गर्छ । ठमेल, नयाँ सडक, दरबारमार्ग, झम्सीखेल, नयाँ बानेश्वर, लाजिम्पाट, बालुवाटार क्षेत्र हेर्दा थाहा हुन्थ्यो, ‘अंग्रेजी’ नयाँ वर्षलाई नेपाली समाजले कसरी आफ्नो बनाइसक्यो ।
यसबाहेक विभिन्न जाति, जनजातिहरुका आफ्ना नयाँ वर्षहरु छन् । नयाँ वर्ष भन्नु हाम्रा लागि सार्वजनिक बिदा पनि हो । इस्वी संवतवाला नयाँ वर्षमा छुट्टी छैन । तर समाजको मनोविज्ञान चाहिँ छुट्टी बराबर ।
अनि डायस्पोरामा बसिरहेको नेपाली समुदायका लागि यस्तै रौनक, अनि छुट्टी– नयाँ वर्षको ।
अनलाइन खबरले विभिन्न देशमा मनाइएको नयाँ वर्ष उत्सवलाई यी तस्वीरहरुमार्फत् हेर्ने जमर्को गरेको छ ।
तपाईंलाई नयाँ वर्ष २०२३ को शुभकामना ।
छिट्टै अर्को नयाँ वर्षमा भेटौंला । कसो ?




प्रतिक्रिया 4