
१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारका विषयमा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सरकारमा रहेका दलहरुले सहयोगको प्रस्ताव नगरेसम्म पर्ख र हेरकै अवस्थामा रहने बताएका हुन् ।
‘नयाँ गठबन्धन खिचडीजस्तो छ, त्यहाँभित्र वामपन्थीको नेतृत्व छ, तल खुट्टा टेकेको अर्कैथरि मान्छे छन् । प्रतिगमनकारी, पुनरुत्थानवादी त्यस्तो खालको खुट्टा टेकेको छ’ उनले भने, ‘के नीति, के कार्यक्रम हुने हो थाहा छैन, उसले ल्याइसकेको छैन । त्यसो हुनाले सरकारका विषयमा भनिहाल्ने कुरा केही पनि भएन ।’
खनालले अघि भने, ‘जबसम्म उनीहरुले आफ्नो कुरा ल्याउँदैनन्, राख्दैनन्, सार्वजनिक गर्दैनन् त्यतिबेलासम्म हामी पर्ख र हेरकै अवस्थामा रहने स्थायी कमिटीका साथीहरुको धारणा छ ।’
गठबन्धनमा रहेका दलले सहयोगको आवश्यकता महसुस गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा रहेको नेता खनालको भनाइ छ ।
आफूहरु आम रुपमा वामपन्थी एकताकै पक्षमा रहेको भन्दै उनले त्यसका लागि सिद्धान्त र नीति मिल्नुपर्ने बताए ।
‘वामपन्थी एकता टाउको जोडेरमात्र हुने होइन, नीति निष्ट एकता हो, सिद्धान्तनिस्ट एकता हो’ उनले भने, ‘आफूलाई कम्युनिस्ट भन्नेहरुसँग हाम्रो कार्यदिशा, सिद्धान्त, लक्ष्य नमिलेसम्म एकता गर्ने छैनौं ।’
प्रतिक्रिया 4