
‘अवैध चोरी निकासी/पैठारी नियन्त्रणमा जिम्मेवार सुरक्षा निकाय र राजस्व सङ्कलक/राजस्व चुहावट नियन्त्रण गर्ने निकायहरूबीच पर्याप्त समन्वय र सहकार्य भएको देखिएन । अवैध चोरी निकासी/पैठारी नियन्त्रणका लागि भन्सार कार्यालयहरूबाट गस्ती जाने गरेको देखिएन ।
सबैखाले व्यापारिक आयातमा प्रतीतपत्र खोल्नुपर्ने व्यवस्था गरिएकोमा भारतबाट हुने स-सानो परिमाणका आयातको लागि प्रतीतपत्र खोल्ने प्रक्रिया झन्झटिलो भयो र लागत प्रभावी भएन । त्यसो हुँदा नगदमा आधारित कारोबारबाट चोरी-पैठारीलाई बढावा मिलेको देखियो ।
सीमा क्षेत्रको कति दूरीसम्म गोदाम राख्न नपाइने भन्ने विषयको मापदण्ड बनेको रहेनछ । जसले गर्दा अधिकांश चोरी निकासी/पैठारीका सामान राख्न, गन्तव्यमा पुर्याउन त्यस्ता गोदामहरूको प्रयोग गर्ने गरिएको भेटियो ।
ठूला दरका भारतीय मुद्रा बोक्न नपाइने निर्देशनले गर्दा सीमावर्ती क्षेत्रमा भारतीयहरूले ठूलो रकम नगद बोकी कारोबारको लागि आउन नसक्ने रहेछन् । यसले गर्दा मनोरञ्जन र आतिथ्यको क्षेत्रमा हुने कारोबारको भुक्तानी गर्न नेपाल भित्रिनुपर्ने भारतीय मुद्रा नभित्रिने र भारततिरै ‘प्रोक्सी’ (व्यक्ति) खडा गरी भुक्तानी हुने गरेको भेटियो ।
भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल भित्रिइसकेपछि अनुमतिपत्र बमोजिमको प्रयोजन, गन्तव्य र समयावधिको पालना गरे/नगरेको र पालना नगरेको अवस्थामा ती सवारी साधन फिर्ता हुँदा आवश्यक जाँचबुझ गर्ने कार्यमा पर्याप्त ध्यान नपुगेको भेटियो । सीमा क्षेत्रमा भारतीय नम्बर प्लेटका पिकअप भ्यानबाट दैनिक जसो कपडा लगायतका वस्तुहरूको तस्करी हुने गरेको सूचना प्राप्त भएको छ ।
झोले-पोके माध्यमबाट भित्रिने गरेका सानो परिमाणका अवैध सामान जफत गरी भन्सार कार्यालयसम्म बुझाउन लैजान सशस्त्र प्रहरी बललाई सवारी साधन एवं इन्धनको समेत समस्या रहने गरेको देखियो ।
छोटी भन्सारको भूमिका कम गर्दै लगिएका कारण अवैध चोरी तस्करीलाई बल पुगेको भेटियो । त्यस्ता नाकाबाट पैठारी गर्न पायक पर्ने साना व्यापारी र गृहस्थहरूलाई भन्सार महसुल बुझाउन लामो दूरी तय गरी मुख्य भन्सार नाकासम्म पुग्न लागत, समय र दूरीका हिसाबले समेत अव्यावहारिक हुने गरेकोले भन्सार नतिरी सामान भित्र्याउन बल पुग्ने रहेछ । यसबारेमा अर्थ मन्त्रालयले नियमनको वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
सीमा क्षेत्रमा कति दूरीसम्म गोदाम राख्न अनुमति दिने भन्न सवालमा अर्थ मन्त्रालयले नीतिगत निर्देशन जारी गर्नुपर्ने देखिन्छ । यसबारे दुई देशको सीमाबाट कम्तीमा एक किलोमिटरको दूरीभित्र गोदाम राख्न स्वीकृति दिन उपयुक्त हुँदैन ।
ठूला दरका भारतीय नोटको सम्बन्धमा सरकारले अहिलेको नीतिमा पुनरावलोकन गर्नुपर्ने देखिन्छ । कति परिमाणमा भारतीय मुद्रा नगद बोकी हिंड्न पाउने भन्ने सवालमा व्यावहारिक निर्णय हुनु आवश्यक छ ।
कहिलेकाहीं जफत गरिएका भारतीय मुद्रा बुझ्न समेत राजस्व अनुसन्धान कार्यालय वा भन्सार कार्यालयहरूले नमान्ने गरेको गुनासो छन् । यसबारेको क्षेत्राधिकारमा थप स्पष्ट सहित नीतिगत निर्देशन हुनुपर्ने देखिन्छ ।
सुरक्षा निकायले कानुनबमोजिम नियन्त्रणमा लिई अनुसन्धानकारी निकायमा बुझाएका मालवस्तु उपर गरिएको कारबाहीको सम्बन्धमा मासिक रूपमा सूचना आदानप्रदान गर्नुपर्ने आवश्यकता छ । सीमा क्षेत्रमा हुने तस्करीमा कतिपय राजनीतिक दलका नेता तथा कार्यकर्ताले अनावश्यक दबाब दिने गरेको सन्दर्भमा त्यस्ता काममा संलग्न नहुन सबै राजनीतिक दलहरूले सर्कुलर गर्नुपर्ने आवश्यकता छ ।
राजस्व चुहावटमा सुरक्षाकर्मीको गैरव्यावसायिक आचरण देखियो । लापरबाही तथा बदमासीको अनुगमन र सुपरीवेक्षण व्यापक रूपमा गर्नुपर्ने आवश्यकता छ । कमी-कमजोरी भेटिए कारबाही गर्ने सन्दर्भमा शून्य सहनशीलताको नीति लिनुपर्ने देखिन्छ ।’
(गृह मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनको सम्पादित अंश ।)
प्रतिक्रिया 4