
१५ पुस, काठमाडौं । थापाथली जनकल्याण परिवारको आयोजना तथा जेएण्डजे हेल्थ एकेडेमीको प्राविधिक सहयोग र व्यवस्थापनमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा २११ ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचार गरिएको थियो । शिविरमा मुलतः स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, आँखा सम्बन्धी समस्या लगायतबारे सेवा प्रदान गरिएको फिजिसियन डा. रोशन झाले बताए ।
सोही अवसरमा हेल्थ एकेडेमीका प्रमुख समेत रहेका डा. झाले एकेडेमीमा सक्नेसँग सेवा शुल्क लिने तथा नसक्नेलाई निःशुल्क उपचार गराउने गरेको बताए । उनले भने, ‘सबैले क्लिनिक भनेपछि नाफामुखी नै हुन्छ भन्ने सोच्नुहुन्छ । तर, हामीले सक्नेसँग लिने नसक्नेको निःशुल्क उपचार गर्ने गरेका छौं ।’
त्यहाँ उपचार सम्भव नहुनेका लागि अन्यत्र उपचारका लागि आवश्यक सल्लाह, सुझाव पनि निःशुल्क दिने गरेको उनले बताए । थपे, ‘कतिपय रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क हुन्छ । तर, थाहा नभएर महँगो सेवा शुल्क तिरेर बाहिर उपचार गरिरहनु भएको हुन्छ । त्यसबारे पनि जानकारी दिन्छौं ।’
एकेडेमीकी स्त्री रोग विशेषज्ञ ऋजुता जोशीले महिलाहरुले आफ्ना समस्या समयमा नबताउँदा जटिल बनिसकेपछि मात्र अस्पतालसम्म पुग्ने गरेको बताइन् । भनिन्, ‘त्यसैले समयमै आएर परामर्श लिन सबैमा अनुरोध गर्छु ।’
सोही अवसरमा थापाथली जनकल्याण परिवारले डा. झा र जोशीलाई सम्मानसमेत गरेको थियो ।
प्रतिक्रिया 4