+
+

शंखरापुरमा सब स्टेशन निर्माणमा बल प्रयोग गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १८:१६

१८ पुस, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा सब स्टेशन निर्माणका लागि बल प्रयोग गरेको भन्दै स्थानीयले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकाछन् ।

सब स्टेशन निर्माण गर्न नहुने भन्दै शान्तिपूर्ण विरोधमा उत्रिएका स्थानीयमाथि १७ पुसमा प्रहरीले लाठि चार्ज गरेको थियो । यस क्रममा तीन जना स्थानीयलाई पक्राउ समेत गरिएको थियो । १७ पुसमा प्रहरीले जयमान वाईवा, राजमान स्यागंवो र लवाङ तामागंलाई प्रहरीले पक्राउ गरेको छ । यस अगाडि पनि यहाँ सब स्टेशन निर्माणका क्रममा झडप भईसकेको छ ।

आफूहरुलाई थाहै नदिई गाउँको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका हुन् । आदिवासी जनजातिको अधिकारमाथि हस्तक्षेप गर्दै प्रहरी परिचालन गरेर मानव अधिकार हनन गरेको भन्दै स्थानीयले आयोगमा उजुरी दिएका हुन् ।

शंखरापुर नगरपालिका – ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सब स्टेशनको स्थानीयले विरोध गर्दै आएकाछन् ।

४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको अपर तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको बोझनीमा विद्युत् प्रसारण आयोजनाले सब–स्टेसन निर्माण गर्न खोजेको हो ।

यो सब–स्टेसनले माथिल्लो तामाकोशीसंगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ । बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको यो सब–स्टेसनमा तीनतिरबाट ४ सय किलो भोल्ट (के.भी) क्षमताका ‘हाई भोल्टेज’ प्रसारण लाइन विस्तार हुनेछन् ।

आफूहरूलाई आयोजनाले सबै जानकारी नदिई झुक्याएर, धम्क्याएर बस्ती नै उठाउने गरी सब-स्टेसन बनाउन लागेको दाबी गर्दै स्थानीयले दुई वर्षदेखि विरोध गरिरहेकाछन् । आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

यसैगरी राष्ट्रिय सीमान्तीकरण विरुद्ध अभियान(समान)ले पनि प्रहरीले गरेको बल प्रयोगको विरोध गरेको छ । आदिवासी जनजातिको अधिकार हनन नगर्न माग गर्दै समानले विज्ञप्ती मार्फत पक्राउ परेकालाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?