+
+

नक्कली परीक्षक बनेर त्रिविबाट कसले लियो २६ लाख ? फेला पार्नेलाई ५० हजार पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १८:५७

१८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली परीक्षक बनेर त्रिवि परीक्षा नियन्त्रण कार्यलयलाई २६ लाख रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिको खोजी थालेको छ ।

अख्तियारले ‘मानिस पहिचान गर्ने बारे’ सूचना सार्वजनिक गर्दै नक्कली परीक्षक बनेर त्रिविबाट २६ लाख रुपैयाँ लिने व्यक्तिबारे पहिला खबर गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । ती व्यक्तिले उत्तरपुस्तिका परीक्षण गरेको कीर्ते कागजात बनाएर त्रिविको परीक्षा नियन्त्रण कार्यालयबाट २६ लाख रुपैयाँ भन्दा बढी लिएका थिए ।

अख्तियारले यो सूचना आफ्नो वेबसाइटमा पुस १३ गते राखेको थियो । आइतबार भने त्रिविका विभिन्न निकायमा र सञ्चार माध्यममा समेत उक्त सूचना पठाएको छ । त्रिविका शिक्षाध्यक्ष प्रा.शिवलाल भुसालले ती व्यक्तिले परीक्षा नियन्त्रकको कीर्ते हस्ताक्षर गरेर कागजात बनाई रकम ठगी गरेको बताएका छन् । उनले भने ‘यो अलि अघिको घटना हो । कन्ट्रोलर र डेपुटी कन्ट्रोलरको कीर्ते हस्ताक्षर गरेर ठगी गरेको रहेछन् । यताबाट नभएपछि अख्तियार पुगेको हो ।’

यो घटना २०७५ साल भन्दा अगाडिको हो । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका परीक्षण गरेबापत परीक्षकलाई फारममा उल्लेख गरेको आधारमा रकम दिने गर्छ । ती व्यक्तिले उत्तरपुस्तिका परीक्षण गरेको भन्दै रकम पाउन भन्दै नक्कली फाराम पेश गरेका थिए । नक्कली फारममा परीक्षा नियन्त्रकको कीर्ते हस्ताक्षर गरेर उनैको नाममा चेक बनाएर नगद सटही गरेको त्रिविले जनाएको छ ।

त्रिविका परीक्षा उप–नियन्त्रक डा.घनश्याम ठाकुर भन्छन्, ‘ती व्यक्तिले नियन्त्रकज्यूको हस्ताक्षर कीर्ते गरेर रकम ठगी गरेका हुन् । त्यही बेलादेखि कार्यालयले छानबिन गरिरहेको छ ।’

यो घटनालगत्तै केही कर्मचारीहरुसँग त्रिविले सोधपुछ पनि गरेको थियो । तर रकम झिक्ने व्यक्ति फेला पार्न सकेन । परीक्षा उपनियन्त्रक ठाकुर भन्छन् ‘उनीहरुबाट पत्ता लगाउन नसकिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । म त्यहाँबाट अवकाश भएकोले पछिल्लो अवस्था थाहा छैन ।’

सुरुमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरेको यो विषयमा हाल अख्तियारले छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?