+

सेभेन थ्रीका मालिक जतिनले भारतबाट भने- खेलाडीलाई तलव दिने फ्रेन्चाइज टिमले हो

२०७९ पुष  १९ गते १२:२७ २०७९ पुष १९ गते १२:२७
सेभेन थ्रीका मालिक जतिनले भारतबाट भने- खेलाडीलाई तलव दिने फ्रेन्चाइज टिमले हो

१९ पुस, काठमाडौं । विवादित नेपाल टी-२० लिगमा मंगलबार पारिश्रमिक नपाएको भन्दै फ्रेन्चाइज टिमका खेलाडीहरुले खेल सुरु गर्न अस्वीकार गरेपछि नयाँ विवाद सुरु भएको छ ।

फ्रेन्चाइज टिमले अनुबन्धित खेलाडीलाई प्रतियोगिताअघि ४० प्रतिशत र प्रतियोगिता सम्पन्न भएपछि बाँकी रकम दिनुपर्ने प्रावधानलाई कार्यान्वयन नभएपछि खेलाडीले टस गर्न नमानेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले उनीहरुको आर्थिक सुरक्षाको ग्यारेन्टी गरेपछि खेलाडीहरु खेल्न तयार भए । पारिश्रमिककै विवादका कारण विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीचको खेल निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भयो ।

लुम्बिनी अलस्टार्सबाहेक नेपाल टी–२० लिगका अरु पाँच फ्रेन्चाइज टिमको संरचना र मालिकबारे कुनै पारदर्शिता छैन ।

कतिपयले प्रतियोगिताको कमर्सियल र स्ट्रटेजिक अधिकार पाएको सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहलुवालियाले नै ‘डमी’ मालिक खडा गरी यी टिम सञ्चालन गरिरहेको आशंका गरेका छन् ।

बैंकिङ कामका लागि भन्दै सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहिले भारतमा छन् । भारतबाट अनलाइनखबरसँग कुरा गर्दै उनले खेलाडीलाई पारिश्रमिक भुक्तानी गर्ने काम फ्रेन्चाइज टिमको भएको दावी गरे ।

‘नेपालमा म भागेको हल्ला चलेको रहेछ । बैंक ट्रान्सफरको काम मिलाउन आएको हुँ । एकदुई दिनमा फर्किन्छु,’ जतिनले भने, ‘खेलाडीलाई फ्रेन्चाइज टिमले पारिश्रमिक दिने हो । अम्पायर र अन्य अफिसियललाई क्यानले पैसा दिने हो ।’

क्यानले आज फ्रेन्चाइज टिमसँग खेलाडीको पारिश्रमिकबारे छलफल गर्ने बताइएको छ । काठमाडौं र फार वेष्ट टिमका मालिक सम्पर्कमा नरहेका कारण खेलाडीले पारिश्रमिकको अडान लिएका थिए ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय