
१९ पुस, काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको हाजिरी विद्युतीय हुने भएको छ । २५ पुस बाट संघीय संसदको अधिवेशन सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको हो ।
संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रिय सभा सदस्यहरुको हाजिरी पहिलो बैठकबाटै विद्युतीय हुने पक्का भएको छ । त्यसका लागि सचिवालयले हाल प्रत्येक राष्ट्रिय सभा सदस्यहरुको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गर्ने कार्य चलिरहेको छ ।
२४ गतेसम्म राष्ट्रिय सभाका सबै मानननीयको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गरिसक्ने उनले जानकारी दिए ।
संघीय संसद सचिवालयले अटोमेसनमा जाने सन्दर्भमा स्वअध्ययन नै गरेको थियो । सोही अध्ययनका आधारमा सांसदहरुको विद्युतीय हाजिरीको विषय अगाडि बढेको हो ।
तर, राष्ट्रिय सदस्यहरुको विद्युतीय हाजिरी पक्का हुँदा प्रतिनिधिसभा सदस्यहरुको विद्युतीय हाजिरीको विषय अन्योलमै छ । निर्णय भएको खण्डमा प्रतिनिधिसभा सदस्यहरुको विद्युतीय हाजिरीको विषय पनि अगाडि बढ्ने सूचना अधिकारी धमलाले बताए ।
प्रतिक्रिया 4